टीकापुर

अध्यक्ष–सचिव विवादबीच नगरपालिकामा पुग्यो खानेपानी संस्थाको कागजात

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २० जेठ । टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टीकापुर नगरपालिकाले माग गरेका कागजात झण्डै दुई महिनापछि बुझाएको घटनाले संस्थाभित्रको व्यवस्थापकीय अवस्था र नेतृत्व विवादलाई पुनः चर्चामा ल्याएको छ।

नगरपालिकाले चैत २० गतेदेखि आर्थिक वर्ष २०७०/०७१ यताका लेखा, राजस्व संकलन, बैंक दाखिला, खरिद प्रक्रिया, सवारी साधन सञ्चालन तथा कर्मचारी व्यवस्थापनसँग सम्बन्धित विस्तृत विवरण माग गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट आएको पत्रको आधारमा नगरपालिकाले ती कागजात माग गरेको जनाएको छ।

बिज्ञापन

मंगलबार संस्थाका सचिव प्रकाश खड्काले प्रमुख प्रशासकीय अधिकृतसमक्ष कागजात बुझाएका हुन्। सचिव खड्काका अनुसार माग गरिएका विवरण संकलन गर्न समय लागेको र अध्यक्षले पत्रमा हस्ताक्षर गर्न असहजता देखाएपछि आफूले नै हस्ताक्षर गरेर कागजात बुझाउनुपरेको अवस्था आएको हो।

यो घटनाले संस्थाको प्रशासनिक प्रक्रियामात्र होइन, नेतृत्व तहभित्रको असमझदारी पनि सार्वजनिक गरेको देखिन्छ। पछिल्लो समय अध्यक्ष, सचिव र कोषाध्यक्षबीचको सम्बन्ध चिसिँदै जाँदा कार्यसमिति नै दुई धारमा विभाजित भएको बताइन्छ।

संस्थाभित्रको यही आन्तरिक द्वन्द्वका कारण सेवा प्रवाह, कर्मचारी संयन्त्र र निर्णय प्रक्रियामा असर परेको चर्चा उपभोक्ता तहसम्म फैलिएको छ। आर्थिक पारदर्शिताको प्रतिबद्धता जनाएको कार्यसमिति नै अहिले आर्थिक विवरण, निर्णय प्रक्रिया र आन्तरिक समन्वयको प्रश्नमा आलोचनाको घेरामा परेको देखिन्छ।

उपभोक्ताहरूको चासो अब एउटै विषयमा केन्द्रित हुन थालेको छ—संस्थाले माग गरिएका कागजातले उठेका प्रश्नको जवाफ दिन्छ कि संस्थाभित्रको विवाद अझै गहिरिँदै जान्छ ? नगरपालिकाको थप प्रक्रिया र सम्भावित छानबिनले अब खानेपानी संस्थाको आगामी दिशा निर्धारण गर्न सक्ने देखिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।