टीकापुर

लम्की–टीकापुर प्रसारण लाइन ढिलाइले टीकापुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुरः लम्की–टीकापुर विद्युत् प्रसारण लाइनको काम समयमै नसकिँदा विद्युत् आपूर्तिका समस्या आउने गरेको छ । उक्त प्रसारण लाइनको काम २०८१ चैतमा नै सक्नुपर्ने गरी ठेक्का लागेको थियो । 

विद्युत् उपभोगको माग बढ्दै गएपछि प्राधिकरणले भजनी, राजापुर टीकापुरका लागि एउटै खम्बामा अलग अलग लाइन ल्याउने गरी ३३ केभी लाइन विस्तार थालेको हो । ३० वर्षअघि १० मिटरको खम्बामा तानिएको लाइन खेतमा परेकाले मर्मत सम्भारमा कठिन भएपछि अहिले सडकको किनारैकिनार नयाँ लाइन विस्तार गर्न लागिएको हो ।

बिज्ञापन

अहिले टीकापुरमा १० मेगावाट, राजापुर र भजनी स्टेसनबाट करिब छ/छ मेगावाट विद्युत् खपत भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको टीकापुर वितरण केन्द्रका प्रमुख इन्जिनियर आनन्द सापकोटाका अनुसार १७ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको लाइनबाट २२ मेगावाट विद्युत् प्रवाह हुँदा तार चुँडिने, जम्पर जल्ने भइरहन्छ । आपूर्ति व्यवस्था मिलाउन गाह्रो हुने गरेको छ।

यहाँ विद्युत् माग बढेका बेला १६० भोल्टसम्म झर्ने, विद्युतीय उपकरणले काम नगर्ने र आपूर्ति बन्द हुने समस्या भइरहेको छ । टीकापुर उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश तिमिल्सनाले विद्युत् अनियमित हुँदा उपकरण बिग्रिने, मेसिन नचल्ने, लाइन सट हुने गुनासो आइरहेको र यस विषयमा विद्युत् प्राधिकरणलाई बेलाबेला जानकारी गराए पनि समस्या समाधान नभएको बताए। 

कम्पनीले जडान कार्य मात्रै गर्ने भएकाले सामग्री उपलब्ध गराउने र साइट क्लियर गर्ने काममा ढिलाइ हुँदा कार्यसम्पन्न गर्न पनि ढिलो भएको लक्ष्मण निर्माण सेवाका प्रतिनिधि जीवन रानाले बताए।प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख, इन्जिनियर दीपक चौधरीका अनुसार खम्बा र पिन इन्सुलेटर केन्द्रले ढिलो पठाउँदा काम रोकिएको छ । अमौरीमा सुकेका दुई रुख, पथरैयामा व्यक्तिगत जग्गामा रहेका लिप्टिसका रुख हटाउन बाँकी छ । एउटै खम्बामा डबल लाइन, क्रस लाइन भएकाले पनि बढी समय लागेको छ । 

प्राधिकरण साढे चार करोड रुपियाँको लागतमा लम्की–टीकापुर १६ किलोमिटरलाइन बनाउँदै छ । डबल सर्किट तार राख्न मिल्ने पाँच सय जति खम्बा गाडेर विद्युत् आपूर्ति क्षमता बढाइँदै छ । समयमा लाइन नबन्दा यहाँको आपूर्ति व्यवस्था प्रभावित भइरहेको छ ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।