वैदेशिक रोजगारीमा १० महिनामै झण्डै १३ सय नेपालीको मृत्यु

काठमाडौं, २९ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वैदेशिक रोजगारीका क्रममा एक हजार २९४ जना नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन १ गतेदेखि २०८३ वैशाख मसान्तसम्म उक्त संख्यामा नेपाली श्रमिकको मृत्यु भएको हो।
बोर्डका अनुसार वैशाख महिनामा मात्र १५३ जना नेपाली श्रमिकको मृत्यु भएको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली श्रमिकको मृत्युको संख्या निरन्तर उच्च रहँदै आएको तथ्यांकले देखाएको छ।

सचिवालयको विवरणअनुसार पछिल्लो १० वर्ष १० महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या ११ हजार ९८८ पुगेको छ। यसले विदेशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य तथा कार्यस्थलको जोखिमबारे गम्भीर प्रश्न उठाएको छ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ८१६ जना नेपाली श्रमिकको मृत्यु भएको थियो। यस्तै, २०७३/७४ मा ७५६ जना, २०७४/७५ मा ८२१ जना, २०७५/७६ मा ७५४ जना र २०७६/७७ मा ६६१ जनाले ज्यान गुमाएका थिए।
कोभिड–१९ महामारीको प्रभाव रहेको आर्थिक वर्ष २०७७/७८ मा मृत्यु हुनेको संख्या बढेर एक हजार २४२ पुगेको थियो। त्यसपछि २०७८/७९ मा एक हजार ३९५ जना, २०७९/८० मा एक हजार २०८ जना, २०८०/८१ मा एक हजार ४५८ जना तथा २०८१/८२ मा एक हजार ५८३ जना नेपाली श्रमिकको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामै एक हजार २९४ जनाको मृत्यु भइसकेकाले वर्षान्तसम्म यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा, स्वास्थ्य परीक्षण, कार्यस्थलको अवस्था तथा मानसिक स्वास्थ्य व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
