रास्वपा सुदूरपश्चिमको नेतृत्वमा प्रकाश विष्ट

धनगढी , २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित भएका छन्। प्रदेश नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा विष्टले ३५८ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत प्राप्त गरे। विष्टले धामीभन्दा २०४ मत बढी ल्याउँदै प्रदेश नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका छन्।

निर्वाचन परिणामसँगै विष्टले सुदूरपश्चिममा पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा पार्टीको वैकल्पिक राजनीतिक अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रदेश अधिवेशनबाट आएको यो नतिजालाई रास्वपाभित्र नयाँ नेतृत्वप्रति कार्यकर्ताको विश्वास र अपेक्षाको संकेतका रूपमा हेरिएको छ। निर्वाचित नेतृत्वले अब संगठन विस्तार, सदस्यता वृद्धि तथा आगामी राजनीतिक रणनीति निर्माणमा विशेष ध्यान दिने अपेक्षा गरिएको छ।




You must be logged in to post a comment.