आस्था /आध्यात्म

सेवाभाव र समर्पणको स्मरण गर्दै महापुरुष जगतरानीलाई श्रद्धाञ्जली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिमराना, २० असार । महापुरुष जगतरानी चौधरीको स्मृतिमा सिमरानामा श्रद्धाञ्जली सत्संग हिजो शुक्रबारका दिनसम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा सेवादल क्षेत्रीय सञ्चालक नरबहादुर बटालाले महापुरुष जगतरानी चौधरीको जीवन सेवाभाव, समर्पण र गुरु भक्तिको उत्कृष्ट उदाहरण रहेको बताउनुभयो ।

बिज्ञापन

उहाँले कुमालेले बनाएको माटोको घडासँग तुलना गर्दै भन्नुभयो, “घडाले जीवनभर कति जनालाई पानी पिलाएर शीतलता प्रदान गर्‍यो भन्ने मूल्य त्यसको उपयोगमा निर्भर हुन्छ। त्यसैगरी महापुरुष जगतरानी चौधरीले सयौं सन्त–भक्तलाई आध्यात्मिक शीतलता प्रदान गर्दै सेवामय जीवन बिताउनुभयो ।”

सेवादलको जिम्मेवारी स्वीकार गर्ने क्रममा जगतरानीले ‘सबै गर्ने–गराउने सत्गुरु नै हुनुहुन्छ, दासी त केवल एउटा निमित्त मात्र हो’ भन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै उहाँले त्यसबाट आफ्नो निस्वार्थ समर्पण र विनम्रता झल्किने बताउनुभयो।

भक्तले केही नमागे पनि सत्गुरुले कृपापूर्वक उसको जीवन समृद्ध बनाइदिने उल्लेख गर्दै बटालाले सच्चा भक्तिले नै परमात्माको अनुभूति गराउने धारणा व्यक्त गर्नुभयो।

उहाँले श्रीकृष्ण र अर्जुनबीचको संवादको प्रसङ्ग उल्लेख गर्दै परमात्माको ज्ञान प्राप्त गर्ने आत्माले मुक्ति र मोक्ष प्राप्त गर्ने बताउनुभयो। विज्ञानले मानव जीवनमा सुविधा थपे पनि त्यसले स्थायी सुख, शान्ति र आनन्द दिन नसक्ने तथा आत्माले परमात्मासँग एकत्व प्राप्त गरेपछि मात्र अमरत्व र वास्तविक शान्तिको अनुभूति हुने उहाँको भनाइ थियो।

सेवालाई अधिकारका रूपमा नभई गुरुको कृपाका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिँदै उहाँले महापुरुष जगतरानीले जीवनभर गुरुको प्रत्येक आदेशलाई श्रद्धापूर्वक स्वीकार गरी निष्ठापूर्वक सेवा गर्नुभएको स्मरण गर्नुभयो। उहाँले जुनसुकै जिम्मेवारी पनि कुनै गुनासो वा बहाना नगरी पूरा गर्ने स्वभावका कारण सबैका प्रिय बन्नुभएको बताउनुभयो।

मानव जीवनको सार्थकता जन्ममा नभई जीवनको आचरणमा निहित रहेको उल्लेख गर्दै उहाँले सत्गुरुले मानवलाई सही मार्गमा डोर्याएर असल जीवनयापन गर्न प्रेरित गर्ने बताउनुभयो।

स्मरण रहोस कि महापुरुष जगतरानी चौधरीको परिवार तीन पुस्तादेखि नै निरंकारी आध्यात्मिक परम्परासँग आबद्ध रहेको छ । उहाँका बाजे टीकाराम चौधरीले सर्वप्रथम ब्रह्मज्ञान प्राप्त गर्नुभएको थियो। त्यसपछि उहाँका बुवा रामशरण चौधरी र पछि जगतरानी चौधरीले पनि ब्रह्मज्ञान प्राप्त गर्नुभएको थियो। उहाँको परिवारकै प्रेरणाबाट सिमराना गाउँका थारु समुदायका धेरै परिवार निरंकारी आध्यात्मिक मार्गमा आबद्ध भएका थिए।

श्रद्धाञ्जली सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, पार्वती, गौरीदेवी, भुवनसिंह भण्डारी, सेतु साउँद, मुन्ना राम चौधरी, गौरी परियार, इन्द्रसिंह रावल, ममता चौधरी, खडक साउँद, सेवादल सञ्चालक बलबहादुर सार्की, दीपक रावल, इन्द्रसिंह, कविता चौधरी तथा जगतराम चौधरीले महापुरुष जगतरानीले पुर्‍याउनुभएको सेवाभाव, आध्यात्मिक योगदान र व्यक्तित्वका विविध पक्षबारे आ–आफ्ना धारणा राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बंशीका भण्डारीले गर्नुभएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।