श्रद्धाञ्जली सभामा चम्पा माताजीको सेवाभाव र आध्यात्मिक योगदानको चर्चा

टीकापुर, २१ असार । श्रद्धाञ्जली सभामा चम्पा माताजीको सेवाभाव र आध्यात्मिक योगदानको चर्चा गरिएको थियो ।
सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले आएका सन्त भक्तहरूलाई सम्बोधन गर्दै भन्नुभयो चम्पा माताजीको जीवनलाई पूर्ण गुरुशिष्यको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँका आदर्श, सेवा भावना र आध्यात्मिक जीवनबाट प्रेरणा लिन सम्पूर्ण सन्त भक्तजनलाई आग्रह गर्नुभएको छ।


एक श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै रिमालले चम्पा माताजी पूर्ण गुरुशिष्या भएको उल्लेख गर्दै भन्नुभयो, “गुरुले सिकाउनुभएको मार्गलाई उहाँले आफ्नो जीवनमा पूर्ण रूपमा आत्मसात् गर्नुभएको थियो। उहाँको जीवनको प्रत्येक व्यवहारमा गुरुशिष्यका गुणहरू स्पष्ट रूपमा झल्किन्थे।”
उहाँले चम्पा माताजीको स्वभाव अत्यन्त मिजासिलो, विनम्र, सरल र मधुर रहेको स्मरण गर्दै घरमा आएका सन्त भक्तजनलाई कहिल्यै पनि भोको पेट फर्किन नदिने बानी रहेको बताउनुभयो। “सन्त भक्तहरूको सेवा गर्नु नै उहाँका लागि परम सौभाग्य थियो। घरमा आउने प्रत्येक व्यक्तिलाई समान आत्मीयता, सम्मान र प्रेमका साथ स्वागत तथा सत्कार गर्नु उहाँको विशेषता थियो,” उहाँले भन्नुभयो।
रिमालका अनुसार चम्पा माताजीमा समदृष्टि, समभाव, प्रेम, नम्रता, त्याग, सेवा र समर्पणजस्ता दिव्य गुणहरू प्रशस्त थिए। उहाँले सबैको हृदयमा निराकार परमात्माको वास रहेको अनुभूति गर्दै जात, वर्ग, पद वा प्रतिष्ठाको कुनै भेदभाव नगरी सबैलाई समान दृष्टिले हेर्ने र समान व्यवहार गर्ने गर्नुहुन्थ्यो। यही कारणले उहाँ सबै सन्त भक्तजनका लागि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले चम्पा माताजीको विनम्रताको प्रसंग स्मरण गर्दै भन्नुभयो, “उहाँ बिरामी भएर शय्यामा रहँदा पनि आफ्नो स्वास्थ्यभन्दा सन्त भक्तजनको सम्मानलाई प्राथमिकता दिनुहुन्थ्यो। घरमा आएका सन्त भक्तजनहरूको हात आफ्नो शिरमा राखेर आशीर्वाद माग्ने उहाँको विनम्रता र श्रद्धाभाव साँच्चिकै अनुकरणीय थियो। यस्तो उच्च आध्यात्मिक चेतना, आत्मसमर्पण र विनम्रता केवल पूर्ण गुरुशिष्यमा मात्र देख्न पाइन्छ।”

रिमालले चम्पा माताजीले गुरुले सिकाउनुभएको जीवन जिउने कला व्यवहारमै उतार्नुभएको बताउँदै उहाँको सम्पूर्ण जीवन सेवा, सत्संग र सुमिरणको उदाहरण बनेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “गुरुको शिक्षा केवल सुन्नका लागि होइन, जीवनमा उतार्नका लागि हो। चम्पा माताजीले यही सत्यलाई आफ्नो जीवनमार्फत प्रमाणित गर्नुभयो।”
उहाँले चम्पा माताजीको आदर्श जीवनबाट प्रेरणा ग्रहण गर्दै प्रत्येक सन्त भक्तजनले पनि सेवा, सत्संग र सुमिरणलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो। जीवनका हरेक परिस्थितिमा निराकार परमात्माप्रति अटल विश्वास कायम राख्दै अन्तिम श्वाससम्म उहाँकै स्मरणमा जीवन बिताउनु नै सच्चा गुरुशिष्यको पहिचान भएको उहाँले बताउनुभयो।
सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले २०२८ साल वैशाख २५ गते अछाम जिल्लामा सद्गुरुको अपार कृपाबाट ज्ञान प्राप्त गरी सत्संग यात्रा प्रारम्भ भएको ऐतिहासिक क्षण स्मरण गर्नुभएको छ।

उहाँका अनुसार त्यस समयमा आफू मुम्बईबाट अछाम पुगेको थियो। सोही अवसरमा नेपालका प्रथम ज्ञान प्रचारक कर्मयोगी महात्मा लाल बहादुरजीको पनि अछाम आगमन भएको थियो। त्यतिबेला ‘निरंकारी’ भन्ने नामभन्दा ‘सद्गुरु’ भनेर सम्बोधन गर्ने चलन रहेको उहाँले बताउनुभयो। निराकारको ज्ञान प्राप्त गर्ने व्यक्तिलाई नै सद्गुरु भनिन्थ्यो । रावलले त्यसबेला सामाजिक परिस्थितिका कारण खुला रूपमा सत्संग गर्न सहज नभएको स्मरण गर्दै गाउँघरका मानिसहरू सुतेपछि रातिको समयमा गोठघरमा लुकेर सत्संग सञ्चालन गरिने गरेको जानकारी दिनुभयो।
रावलका अनुसार सोही समयमा कर्मयोगी महात्मा वाचकजीका रूपमा परिचित मोहनसिंह कडायत, जसलाई अवतार वाणीको मंगलाचरणदेखि ३०१ श्लोकसम्म कण्ठस्थ थियो, उहाँसमक्ष आफू लुकेर होइन, आफ्नै आँगनमा खुला रूपमा सत्संग गर्न चाहेको इच्छा व्यक्त गरेको बताउनुभयो ।
त्यस प्रस्तावमाथि उहाँले “के त्यसो गर्नु सम्भव छ ?” भनी जिज्ञासा राख्नुभएको र आफूले “सम्भव छ, म हृदयदेखि नै सत्संग गर्न तयार छु” भन्ने जवाफ दिएको रावलले स्मरण गर्नुभयो। त्यसपछि आफ्नै निवासबाट महात्मा लाल बहादुरजीको हजूरीमा सत्संगको सुरुआत भएको र सोही दिन आफू तथा आफ्नो सम्पूर्ण परिवारले ज्ञान प्राप्त गरी सत्संगमा आबद्ध भएको उहाँले बताउनुभयो। त्यस दिनदेखि हालसम्म आफ्नो परिवारले कुनै किन्तु–परन्तु नगरी निराकारप्रति अटल आस्था राख्दै निरन्तर सत्संग गर्दै आएको उहाँको भनाइ थियो।

रावलले आफ्नी आमा चम्पा माताजीले जातभातको कुनै भेदभाव नगरी घरमा आउने सन्त–भक्तहरूको श्रद्धापूर्वक सेवा–सत्कार गर्दै महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। चम्पा माताजीले आफूप्रति पुरयाएको योगदानको चर्चा गर्ने क्रममा उहाँ भावुक बन्दै उहाँका आँखा रसाएका थिए।
कार्यक्रममा मुम्बईबाट आउनुभएका मनोज कोटालले ब्रह्मलीन सद्गुरु माता सविन्दरजीप्रति वर्तमान सद्गुरु माता सुदीक्षा जी महाराजले श्रद्धाञ्जली व्यक्त गर्दै उच्चारण गर्नुभएको शब्द, “माँ तुम न होती तो कहाँ सँभलते, ऐ माँ तेरी सूरत से अलग भगवान की सूरत क्या होगी” उद्धृत गर्दै मातृसेवाको महत्त्व प्रकाश पार्नुभयो।
उहाँले चम्पा माताजीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न स्थानबाट सन्त–महात्माहरू एकत्रित भएको उल्लेख गर्दै आफू पनि सोही उद्देश्यका साथ मुम्बईबाट कार्यक्रममा सहभागी हुन आएको बताउनुभयो।
मनोज कोटालले सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले आफ्नी आमाको १०१ वर्षको उमेरसम्म समर्पित भावका साथ सेवा–सत्कार गरी मातृभक्तिको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको उल्लेख गर्नुभयो। उहाँले रावलको सेवाभाव सबैका लागि प्रेरणाको स्रोत बनेको बताउँदै घर–परिवारमा रहेका ज्येष्ठ नागरिक, असहाय तथा वृद्धवृद्धाको सम्मानपूर्वक सेवा–सत्कार गर्नुपर्ने सन्देश दिनुभयो।

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय उपसचिव तथा महेन्द्रनगर शाखाका प्रमुख नरबहादुर विकले चम्पा माताजीको जीवन सेवाभाव, समर्पण र गुरुमुखी जीवनशैलीको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले चम्पा माताजीले यस्तो व्यक्तित्वको निर्माण गर्नुभएको उल्लेख गर्दै, जसको योगदानले नेपालभर आध्यात्मिक चेतना र सत्संगको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। माताजी हृदयदेखि नै गुरुमुखी हुनुहुन्थ्यो र उहाँको जीवनशैलीलाई परिवारका सदस्यहरूले पनि आत्मसात् गर्न सके त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाइ थियो।
विकले चम्पा माताजी शारीरिक रूपमा अहिले आफूमाझ नरहे पनि निराकार स्वरूपमा सधैं साथमा रहेको अनुभूति गर्न सकिने उल्लेख गर्दै ब्रह्मज्ञानी सन्तहरूले मात्र त्यसको वास्तविक अनुभूति गर्न सक्ने बताउनुभयो। उहाँले ब्रह्मज्ञान प्राप्त गर्नु मात्र पर्याप्त नहुने, त्यसलाई कर्म र व्यवहारमा उतार्न आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो।चम्पा माताजीले ब्रह्मज्ञानलाई आफ्नो जीवनमा पूर्ण रूपमा आत्मसात् गर्दै सेवाभाव, समर्पण र सदाचारमार्फत एक सच्चा सेवकको परिचय दिएको उहाँले बताउनुभयो।
सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा सेवादल क्षेत्रीय सञ्चालक नरबहादुर बटालाले चम्पा माताजीको सेवाभाव, विनम्रता र सन्तप्रतिको श्रद्धा अनुकरणीय रहेको बताउनुभयो। उहाँले चम्पा माताजीको जीवनका विभिन्न प्रसंग स्मरण गर्दै उहाँले जीवनभर कसैप्रति पनि रिस, राग, द्वेष वा कुनै प्रकारका नकारात्मक भावना नराखेको उल्लेख गर्नुभयो। घरमा आउने प्रत्येक व्यक्तिलाई सन्तको स्वरूप मानी श्रद्धापूर्वक सेवा–सत्कार गर्ने उहाँको स्वभाव रहेको बटालाले बताउनुभयो।

उहाँले निरंकारी मिशनको एक पर्वका क्रममा भएको एउटा घटना स्मरण गर्दै भन्नुभयो, “एकपटक माताजी लंगरस्थलभन्दा बाहिर बसिरहनुभएको थियो। मैले ‘माताजी, प्रसादी ग्रहण गर्नुभयो?’ भनेर सोध्दा उहाँले ‘मैले यहाँ सन्तहरूको दर्शन गरिरहेकी छु, यही नै मेरो लागि प्रसादी ग्रहण गरेसरह हो’ भनेर उत्तर दिनुभएको थियो।” उक्त प्रसंगले आफूलाई सन्त–महात्माको दर्शन र संगतले नै आध्यात्मिक तृप्ति प्राप्त हुने गहिरो शिक्षा दिएको उल्लेख गर्दै बटालाले चम्पा माताजीका ती शब्दहरू आज पनि बारम्बार स्मरण भइरहने बताउनुभयो।
सन्त निरंकारी सत्संग भवन टिकापुरका प्रमुख महादेव भण्डारीले चम्पा माताजीको जीवन समाजका लागि प्रेरणादायी रहेको बताउनुभएको छ। उहाँले परिवार र समाजमा सकारात्मक योगदान तथा प्रेरणा छाडेर जाने व्यक्तित्व भौतिक रूपमा यस संसारबाट विदा भए पनि उनीहरूको स्मृति र आदर्श समाजमा सधैं जीवित रहने उल्लेख गर्नुभयो। चम्पा माताजीको योगदान र जीवनशैलीले आज पनि सबैलाई समय–समयमा प्रेरित गरिरहेको उहाँले बताउनुभयो।
भण्डारीले चम्पा माताजीको अन्तिम अवस्थाको एक भावुक प्रसंग स्मरण गर्दै भन्नुभयो, “उहाँ आइसियुमा उपचाररत रहँदा भेट्न गएको थिएँ। त्यसबेला उहाँले भावुक हुँदै, ‘महात्माजी, आशीर्वाद दिनुहोस्, अब धेरै भइसक्यो। अब दासलाई बिदा दिनुहोस्,’ भन्नुभएको थियो।” त्यसको जवाफमा आफूले “जबसम्म निराकारको इच्छा हुँदैन, तबसम्म हाम्रो केही पनि चल्दैन” भन्दै उहाँलाई सम्झाएको भण्डारीले बताउनुभयो। उहाँले चम्पा माताजीले अन्तिम समयसम्म पनि निराकारप्रतिको अटल आस्था र समर्पण कायम राखेको उल्लेख गर्नुभयो।

अछाम जिल्ला इन्चार्ज जयबहादुर साउदले चम्पा माताजीले समाजलाई प्रेरणादायी व्यक्तित्व प्रदान गरेको बताउनुभयो। उहाँले माताजीको संस्कार र योगदानबाट प्रेरित भई आज नेपालभर धेरैले ब्रह्मज्ञानको मार्ग आत्मसात् गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो। चम्पा माताजीले आफ्नो जीवनलाई ब्रह्मज्ञान र सेवाभावमा समर्पित गरेकाले उहाँ जिउँदै मोक्षका अधिकारी बनेको साउदले बताउनुभयो।
दाङबाट आउनुभएका दीनबहादुर जिसीले चम्पा माताजीले भक्ति, समर्पण र सेवाभावका साथ आफ्नो सम्पूर्ण जीवन व्यतीत गरेको बताउनुभयो। उहाँले सन्त–भक्तहरूको सेवा गर्दै गुरुको आदेशलाई जीवनभर आत्मसात् गरेको उल्लेख गर्नुभयो। निरंकार प्रभुप्रतिको अटल आस्था र आध्यात्मिक शक्तिका कारण उहाँले नरबहादुर रावलजस्ता दिव्य गुण भएका सुपुत्रलाई जन्म दिएको बताउँदै जिसीले यस्ता सन्तस्वभावका व्यक्तित्व जिउँदै मोक्षका अधिकारी हुने धारणा व्यक्त गर्नुभयो।
अत्तरिया सत्संग भवनका प्रमुख दीपक सिंहले आत्मा अमर हुने र सद्गुरुको कृपाबाट निराकार परमात्माको दर्शन भएपछि जीवनले वास्तविक अर्थ पाउने बताउनुभयो। उहाँले अवतार वाणी उद्धृत गर्दै अन्तिम समयसम्म गुरु र निराकारप्रति पूर्ण समर्पण, सेवा तथा अहंकार त्याग गर्ने व्यक्ति नै प्रिय शिष्य र जिउँदै मोक्षका अधिकारी हुने धारणा व्यक्त गर्नुभयो।

नेपालगञ्जका मुखी शिवप्रसाद गोदियारले आत्मा परमात्माबाट उत्पन्न भई अन्ततः परमात्मामै विलीन हुने आध्यात्मिक सिद्धान्त प्रस्तुत गर्नुभयो। उहाँले समुद्रबाट उत्पन्न भएको जल अन्ततः समुद्रमै मिसिएझैँ आत्माको अन्तिम गन्तव्य पनि परमात्मा नै हुने बताउनुभयो। उहाँले मानिसले जीवनभरि गरेको साधना र कर्मको सार्थकता अन्तिम समयमा निराकार ब्रह्मको स्मरण गर्न सकेमा मात्र मोक्ष प्राप्त हुने धारणा व्यक्त गर्नुभयो। अन्तिम क्षणमा निराकारप्रति ध्यान केन्द्रित हुन नसके जीवनभरिका आध्यात्मिक प्रयासहरू अधुरा रहन सक्ने र मानव जीवनको परम लक्ष्य प्राप्त गर्न कठिन हुने उहाँले बताउनुभयो।
श्रद्धाञ्जली कार्यक्रममा मुम्बई, दाङ, नेपालगञ्ज, बर्दिया, महेन्द्रनगर, धनगढी, अछाम लगायत कैलाली जिल्लाका विभिन्न स्थानबाट आएका सन्त–भक्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन श्रीराम काफ्लेले गर्नुभएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.