अनौठो

गाई चराउन गएका किसानमाथि सिंहको आक्रमण, धैर्यले बचायो जीवन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी — भारतको गुजरात राज्यस्थित भावनगर जिल्लामा सिंहको आक्रमणमा परेका एक किसानले करिब आधा घण्टासम्म सिंहको नियन्त्रणमा रहेपछि पनि ज्यान जोगाउन सफल भएका छन्। घटनामा गराजिया गाउँका करिब ५० वर्षीय कालुभाइ परमार गम्भीर घाइते भएका छन्।

घटना जुलाई ६ को बिहान करिब साढे ८ बजे भएको हो। कालुभाइ गाईलाई पानी खुवाउन लैजाँदै गर्दा बाटोमा लुकेर बसेको सिंहले अचानक आक्रमण गरेको थियो। सिंहले सुरुमा उनको काँधमा प्रहार गर्दै लडाएको र त्यसपछि हातलाई मुखमा च्यापेर लामो समयसम्म नियन्त्रणमा राखेको बताइएको छ।

बिज्ञापन

अस्पतालबाट सञ्चारकर्मीसँग कुरा गर्दै कालुभाइले आफूले प्रतिकार नगरी धैर्य अपनाएको बताए। उनका अनुसार सिंहले करिब आधा घण्टासम्म समातिराखेपछि आफूले बिस्तारै सहलाउन थालेका थिए। त्यसपछि सिंहले उनलाई छोडिदिएको उनले बताएका छन्।

घटनापछि स्थानीय बासिन्दाले तत्काल वन विभागलाई खबर गरेका थिए। तर सिंह घटनास्थलमै रहेकाले वनकर्मी तत्काल पुग्न सकेनन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा स्थानीयले चिच्याउँदै सिंहलाई ढुंगा हानेर किसानलाई बचाउने प्रयास गरेको देखिन्छ।

शेत्रुंजी वन्यजन्तु विभागका उपवन संरक्षक चिराग अमिनले गराजिया गाउँमा सिंहको आक्रमणबाट एक किसान घाइते भएको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

स्थानीयका अनुसार केहीबेरपछि सिंहले कालुभाइलाई छोडेर नजिकै रहेका गाईतर्फ गएको थियो। यद्यपि गाउँका नेता करमशीभाइ चौहानका अनुसार सिंहले कुनै पनि चौपायालाई क्षति नपुर्‍याई अन्ततः जंगलतर्फ फर्किएको थियो।

उनका अनुसार सिंह सुरुमा गाउँमा प्रवेश गरी एउटा खेततर्फ पुगेको थियो। त्यहाँ रहेको भैँसीले प्रतिकार गरेपछि सिंह फर्किएको र त्यसपछि कालुभाइको घरनजिक पुगेर उनीमाथि आक्रमण गरेको थियो।

आक्रमणबाट कालुभाइको घाँटी, काँध र हातमा गम्भीर चोट लागेको छ। प्रारम्भिक उपचार पालिताना अस्पतालमा गरिएपछि उनलाई थप उपचारका लागि भावनगरस्थित सर तख्तसिंहजी जनरल अस्पतालमा रिफर गरिएको छ।

भावनगर जिल्लामा पछिल्लो समय मानिसमाथि सिंहको आक्रमण बढ्दो चिन्ताको विषय बनेको छ। यसअघि जुन १८ मा पालिताना तालुकासँग जोडिएको महुवा तालुकाको गढडा गाउँमा एक व्यक्तिको शव झाडीमा फेला परेको थियो। परिवारले उनको मृत्यु पनि सिंहको आक्रमणबाट भएको दाबी गरेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।