विवादास्पद अभिव्यक्तिपछि डीएसपी प्रसन्नराज चौधरी जिम्मेवारीबाट हटाइए, जिल्ला प्रहरी कार्यालय कैलाली तानिए

कैलाली । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरी सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण जिम्मेवारीबाट हटाइएका छन्। उहाँलाई तत्कालका लागि इलाका प्रहरी कार्यालय सुख्खडको जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको प्रहरी स्रोतले जनाएको छ।
डीएसपी चौधरीले एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा “हामी बालेनको पुलिस होइनौँ, केपी ओलीलाई थुन्ने यही नेपाल प्रहरी हो” भन्ने अभिव्यक्ति दिनुभएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। उक्त अभिव्यक्तिपछि विभिन्न तहबाट आलोचना र बहस सुरु भएको थियो।

भिडियो सार्वजनिक भएसँगै नेपाल प्रहरी नेतृत्वले घटनालाई गम्भीर रूपमा लिँदै डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिम्मेवारीबाट हटाएको जनाएको छ। प्रारम्भिक अनुसन्धान र स्पष्टीकरण प्रक्रिया सम्पन्न नहुँदासम्म उहाँलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको जानकारी प्राप्त भएको छ।
कार्यक्रममा बोल्ने क्रममा डीएसपी चौधरीले आफू लोकसेवा आयोगमार्फत प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक दलको नभई संविधान, कानुन र विधिअनुसार सञ्चालन हुने संगठन भएको दाबी गर्नुभएको थियो। यद्यपि, उहाँले प्रयोग गर्नुभएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म मिश्रित प्रतिक्रिया देखिएको छ।
केहीले प्रहरी संगठनको तटस्थ भूमिकाबारे उहाँले राख्न खोजेको सन्देश सकारात्मक रहेको टिप्पणी गरेका छन् भने अर्कोतर्फ सार्वजनिक मञ्चमा प्रयोग गरिएको शैली र राजनीतिक सन्दर्भ जोडिएको अभिव्यक्ति प्रहरी आचारसंहितासँग मेल नखाने भन्दै आलोचना पनि भएको छ।
प्रहरी प्रधान कार्यालयले घटनाबारे आवश्यक छानबिन तथा स्पष्टीकरण प्रक्रिया अगाडि बढाएको बताइएको छ। छानबिनको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक निर्णय लिइने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
