बझाङमा मोबाइल बैंकिङ ह्याकको आशंका, एक मिनेटको अन्तरमा खाताबाट ३ लाख रुपैयाँ चोरी

बझाङ । बझाङको बुंगल नगरपालिका–२ निवासी एक व्यक्तिको कृषि विकास बैंकको खाताबाट मोबाइल बैंकिङमार्फत ह्याक भएको आशंकामा ३ लाख रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएको छ।
बुंगल नगरपालिका–२ स्थायी घर भई वडा नम्बर–४ विजगडामा मोबाइल ग्यालरी सञ्चालन गर्दै आएका रामबहादुर जाग्रीको खाताबाट अज्ञात व्यक्तिले ३ लाख रुपैयाँ ट्रान्सफर गरेको बताइएको छ।

पीडित जाग्रीका अनुसार मोबाइलमा लगातार तीन पटक ‘अपडेट’ गर्नुपर्ने सूचना आएपछि उनले अपडेट गरेका थिए। त्यसलगत्तै दिउँसो १ बजेर १० मिनेट, ११ मिनेट र १२ मिनेटमा एक–एक लाख रुपैयाँका दरले जम्मा ३ लाख रुपैयाँ खाताबाट काटिएको उनले बताए।
प्रारम्भिक जानकारीअनुसार चोरी भएको रकम कृषि विकास बैंकको खाताबाट सिद्धार्थ बैंकको एक खातामा ट्रान्सफर भएको बुझिएको छ। उक्त खाता नम्बर 55512533083 रहेको जानकारी प्राप्त भए पनि खातावालाको परिचय हालसम्म खुल्न सकेको छैन।
घटनापछि कृषि विकास बैंक, बुंगल शाखाले सम्बन्धित खाता तत्काल रोक्का गरिएको जनाएको छ। साथै, पीडितले जिल्ला प्रशासन कार्यालय बझाङमा उजुरी दर्ता गराएका छन्। घटनाबारे सम्बन्धित सुरक्षा निकाय र बैंकले संयुक्त रूपमा अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै रकम कसको खातामा पुगेको हो, ह्याक कसरी भयो तथा यसमा संलग्न व्यक्तिको पहिचानबारे अनुसन्धान भइरहेको जनाएको छ। अधिकारीहरूले मोबाइल बैंकिङ प्रयोग गर्दा अपरिचित लिंक, सन्देश वा ‘अपडेट’ सम्बन्धी सूचनाप्रति सतर्क रहन सेवाग्राहीलाई आग्रह गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
