छोरीको भविष्य सुरक्षित बनाउन ३६ वर्ष पुरुषको पहिचानमा बाँचेकी तमिलनाडुकी एक आमाको संघर्ष

चेन्नई (भारत)। भारतको तमिलनाडुकी एस. पेचियाम्मालले आफ्नी छोरीको सुरक्षित भविष्यका लागि गरेको असाधारण त्याग र संघर्षको कथा अहिले पुनः चर्चामा आएको छ। श्रीमान्को असामयिक निधनपछि उनले सामाजिक विभेद र असुरक्षाबाट बच्न पुरुषको पहिचान अपनाएर तीन दशकभन्दा बढी समय बिताएकी हुन्।
पेचियाम्मालको विवाह भएको करिब १५ दिनमै उनका श्रीमान्को हृदयघातका कारण निधन भएको थियो। त्यतिबेला उनी केवल २० वर्षकी थिइन् र गर्भवती पनि थिइन्। केही समयपछि उनले छोरीलाई जन्म दिइन्।

श्रीमान्को निधनपछि परिवारको आर्थिक जिम्मेवारी एक्लैले सम्हाल्नुपरेको उनले होटल, चिया पसल तथा निर्माण क्षेत्रमा मजदुरी गरेर जीविकोपार्जन गर्ने प्रयास गरिन्। तर विधवा र एक्ली महिला भएकै कारण बारम्बार अपमान, दुर्व्यवहार तथा असुरक्षाको सामना गर्नुपरेपछि उनले जीवन परिवर्तन गर्ने कठिन निर्णय गरिन्।
छोरीको सुरक्षा र जीविकोपार्जनलाई प्राथमिकतामा राख्दै उनले कपाल छोटो काटिन्, पुरुषको पोसाक लगाउन थालिन् र आफ्नो नाम परिवर्तन गरी ‘मुथु’ राखिन्। त्यसपछि उनी ३६ वर्षभन्दा बढी समयसम्म पुरुषको पहिचानमा बाँच्दै विभिन्न क्षेत्रमा काम गरिन्। यही पहिचानका कारण आफूले सम्मानका साथ काम गर्ने, सुरक्षित महसुस गर्ने र छोरीलाई हुर्काउने अवसर पाएको उनले बताएकी छन्।
उनको वास्तविक पहिचान छोरी र केही नजिकका आफन्तबाहेक अरू कसैलाई थाहा थिएन। पछि सरकारी परिचयपत्र तथा सामाजिक सुरक्षा भत्तासम्बन्धी प्रक्रिया पूरा गर्ने क्रममा उनले आफ्नो वास्तविक पहिचान सार्वजनिक गरेकी थिइन्।
हाल उनकी छोरी वयस्क भइसकेकी छन् र विवाह पनि भइसकेको छ। यद्यपि पेचियाम्मालले पुरुषको पहिचानमा बिताएको जीवनले आफूलाई सम्मान, सुरक्षा र स्वतन्त्रताको अनुभूति दिलाएको बताउँदै आज पनि सोही पहिचानमा बाँच्न चाहेको उल्लेख गरेकी छन्।
पेचियाम्मालको जीवनकथा एक आमाले आफ्नो सन्तानको भविष्य सुरक्षित बनाउन गरेको साहस, त्याग र संघर्षको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
