स्वास्थ्य सेवा समुदायसम्म पुर्याउन वडा नं. ८ को नयाँ पहल

टीकापुर (धनसिंहपुर), २ साउन । कैलालीको टीकापुर नगरपालिका–८ धनसिंहपुर स्वास्थ्य चौकीमा टोल विकास संस्था स्तरीय स्वास्थ्य सरोकार समितिको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८३/८४ को कार्ययोजनामाथि छलफल सम्पन्न भएको छ।
कार्यक्रममा गत वर्ष सञ्चालन भएका स्वास्थ्यसम्बन्धी गतिविधिको समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम, समुदायमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय तथा स्वास्थ्य सचेतना अभिवृद्धिसम्बन्धी विभिन्न एजेण्डामाथि विस्तृत छलफल गरिएको थियो।

सोही अवसरमा वडा नम्बर ८ अन्तर्गत रहेका १७ वटै टोल विकास संस्थालाई कुल रु. १ लाख ६५ हजार बराबरका स्वास्थ्य परीक्षण सामग्री वितरण गरिएको छ। वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला ले टोल विकास संस्थाका प्रतिनिधिलाई डिजिटल रक्तचाप (बीपी) मापन यन्त्र, डिजिटल थर्मोमिटर, डिजिटल तौल मेसिन लगायतका स्वास्थ्य जाँच सामग्री हस्तान्तरण गर्नुभयो।
वडा अध्यक्ष ठकुल्लाले समुदायमै प्रारम्भिक स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्न तथा टोलस्तरमा स्वास्थ्य सचेतना र नियमित स्वास्थ्य निगरानीलाई प्रभावकारी बनाउन उक्त सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले टोल विकास संस्थाहरूले स्थानीय स्वास्थ्य प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वास्थ्यकर्मी, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आगामी दिनमा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा आयोजकले सक्रिय सहभागिता जनाई कार्यक्रम सफल बनाउन योगदान पुर्याउने टोल विकास संस्थाका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
