काठमाडौं गेस्टहाउसमा मृत भेटिएकी धनगढीकी युवतीको कोठा युवकको नाममा बुक

काठमाडौं, ५ साउन । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत अवस्थामा फेला परेकी कैलालीकी २५ वर्षीया निशा सुनुवारको घटनाबारे प्रहरीले हत्या हुन सक्ने कोणबाट अनुसन्धान अघि बढाएको छ।
धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई काठमाडौंको माछापोखरीमा बस्दै आएकी सुनुवार आइतबार गेस्टहाउसको कोठाभित्र पलङमुनि व्यवस्थापन गरिएको अवस्थामा मृत फेला परेकी थिइन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएकाले हत्या हुन सक्ने सम्भावनालाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको छ। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गेस्टहाउसको कोठा एक युवकको नाममा बुक गरिएको थियो। निशा असार २८ गतेदेखि उक्त गेस्टहाउसमा आउजाउ गर्दै बसेको खुलेको छ।
घटनास्थलको मुचुल्का गर्ने क्रममा शरीरमा बाह्य रूपमा ठूलो चोटपटक नदेखिए पनि टाउकोको पछाडिको भागमा सामान्य चोट रहेको प्रहरीले जनाएको छ।
प्रहरीले कोठा बुक गर्ने युवकसहित घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको छ। पोस्टमार्टम प्रतिवेदन र अन्य प्रमाणका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
