प्रचण्ड र रञ्जिता श्रेष्ठबीच समसामयिक राजनीति र प्रदेश संरचनाबारे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश संरचना तथा संगठनात्मक विषयमा छलफल भएको छ।
भेटवार्तामा मुलुकको वर्तमान राजनीतिक अवस्था, संघीय शासन प्रणालीको प्रभावकारिता, प्रदेश संरचनाको कार्यान्वयन तथा राजनीतिक दलहरूको भूमिका लगायतका विषयमा विचार आदान–प्रदान भएको जनाइएको छ।

छलफलपछि पूर्वमन्त्री श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा प्रचण्डले निर्वाह गरेको नेतृत्वदायी भूमिका, जटिल परिस्थितिमा निर्णय लिन सक्ने क्षमता, राजनीतिक दूरदृष्टि तथा संवादमार्फत सहमति र निकास खोज्ने शैलीले नेपाली राजनीतिमा विशेष स्थान बनाएको उल्लेख गरेकी छन्।
उनले कुनै पनि राजनीतिक संगठनको दीर्घायु र विश्वसनीयता व्यक्तिको इच्छाभन्दा विधि, विधान, नीति, सामूहिक निर्णय र नेतृत्वप्रतिको जिम्मेवार प्रतिबद्धतामा निर्भर रहने धारणा व्यक्त गरिन्। संगठनभित्र विचार र बहस स्वाभाविक भए पनि अन्ततः संस्थागत निर्णयलाई सम्मान गर्दै अनुशासित रूपमा अघि बढ्नु नै सुदृढ राजनीतिक संस्कृतिको आधार हुने उनको भनाइ छ।
भेटघाटले नेतृत्वको अनुभव, संगठनात्मक अनुशासन र राष्ट्रहितलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउनुपर्ने आवश्यकतालाई थप स्पष्ट बनाएको उल्लेख गर्दै श्रेष्ठले आफू यिनै सिद्धान्त र मूल्यप्रति प्रतिबद्ध रहने धारणा व्यक्त गरेकी छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
