नेपालकै पहिलो १०८ कुण्डीय विराट महायज्ञ टीकापुरमा, धार्मिक इतिहास रच्ने तयारी

टीकापुर, ७ साउन । कैलालीको टीकापुरमा नेपालमै पहिलोपटक १०८ कुण्डीय गोपाल अष्टोत्तरशत विराट महायज्ञ आयोजना हुने भएको छ। ईश्वर प्रेमी सेवा आश्रमको आयोजनामा मंसिर १२ देखि २२ गतेसम्म सञ्चालन हुने महायज्ञलाई नेपालकै ठूलो वैदिक धार्मिक अनुष्ठानका रूपमा प्रस्तुत गरिएको छ।
आयोजकका अनुसार महायज्ञ श्री १००८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य जी महाराज को संकल्पमा सञ्चालन हुनेछ। महायज्ञ अवधिभर १०८ वटा हवन कुण्डमा एकैसाथ वैदिक विधिअनुसार हवन गरिनेछ भने गोपाल सहस्रनाम बाट आहुति, चारै वेदको पारायण तथा १८ पुराणको वाचनसमेत गरिने कार्यक्रम तय गरिएको छ।

महायज्ञको अर्को विशेष आकर्षणका रूपमा दैलेखस्थित ज्वाला क्षेत्रको नाभिस्थानबाट पवित्र अग्नि ल्याइने आयोजकले जनाएको छ। सोही अग्निबाट सम्पूर्ण हवन अनुष्ठान सञ्चालन गरिने तयारी गरिएको छ।
आयोजकका अनुसार धार्मिक आस्था, वैदिक संस्कृतिको संरक्षण, पितृ उद्धार, कामना सिद्धि तथा समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो। यसले सुदूरपश्चिममा धार्मिक पर्यटन प्रवर्द्धनका साथै देशभरका श्रद्धालुलाई टीकापुरसम्म आकर्षित गर्ने अपेक्षा गरिएको छ।
१०८ हवन कुण्डमा एकैसाथ वैदिक अनुष्ठान सञ्चालन हुने भएकाले यो महायज्ञ नेपालको धार्मिक इतिहासमा ऐतिहासिक र विशिष्ट आयोजनाका रूपमा स्थापित हुने आयोजकको विश्वास छ। देशका विभिन्न स्थानबाट हजारौँ साधु–सन्त, विद्वान्, वैदिक पण्डित तथा श्रद्धालुहरूको सहभागिता रहने अनुमान गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
