पाकिस्तानी अभिनेत्री रुबि र नेपाली टिकटकर रुबिन खड्काको भेट चर्चामा, ‘आर–आर भेट’ कार्यक्रममा व्यक्त गरे एकअर्काप्रति सम्मान

काठमाडौं । पाकिस्तानी टिकटकर तथा अभिनेत्री रुबि र नेपाली टिकटकर रुबिन खड्काको भेट यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। नेपाल भ्रमणमा रहेकी रुबिका लागि विशेष रूपमा ‘आर–आर भेट’ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ उनले रुबिन खड्काको खुलेर प्रशंसा गरेकी छन्।

कार्यक्रममा बोल्दै रुबिले आफूलाई नेपाली दर्शकमाझ चिनाउन रुबिन खड्काले महत्वपूर्ण भूमिका खेलेको बताइन्। उनले नेपाली दर्शकबाट पाएको माया र समर्थनका लागि रुबिनप्रति आभार व्यक्त गर्दै सामाजिक सञ्जालले दुई देशका नागरिकबीच आत्मीय सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।

नेपाल बसाइका अनुभव सुनाउँदै रुबिले यहाँको प्राकृतिक सौन्दर्य, नेपालीको आतिथ्य, आत्मीय व्यवहार र संस्कृतिको प्रशंसा गरिन्। नेपाल आफूले सोचेभन्दा अझ सुन्दर र मायालु देश लागेको भन्दै यहाँका मानिसहरूको अपनत्वले आफू निकै प्रभावित भएको उनको भनाइ थियो।

कार्यक्रममा रुबिन खड्काले पनि रुबिलाई स्वागत गर्दै नेपाल भ्रमण सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। दुवैले एकअर्काप्रति सम्मान व्यक्त गर्दै भविष्यमा पनि यस्तै सकारात्मक सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमका तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेका छन्। दुवै कन्टेन्ट क्रिएटरको आत्मीय भेट, मित्रवत् संवाद र एकअर्काप्रतिको सम्मानपूर्ण व्यवहारले धेरै प्रयोगकर्ताको ध्यान आकर्षित गरेको छ। सामाजिक सञ्जालमा उनीहरूको भेटलाई नेपाल–पाकिस्तानबीच सांस्कृतिक र डिजिटल सम्बन्धको सकारात्मक उदाहरणका रूपमा समेत चर्चा गरिएको छ।


