पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा सहमति नजुट्दा शव अझै लासघरमै

धनगढी, १५ साउन — धनगढीकी पूजा धानुक (धामी) को मृत्यु प्रकरणमा अन्तिम संस्कार गर्ने विषयमा माइती र ससुराली पक्षबीच अझै सहमति जुट्न सकेको छैन। दुवै पक्ष शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीमा छलफलमा बसे पनि शव व्यवस्थापनबारे कुनै निष्कर्ष निस्कन सकेन।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार दुवै पक्षबीच सहमति गराउने प्रयास जारी रहे पनि अन्तिम संस्कार कहिले र कसरी गर्ने भन्ने विषय टुंगो लागिसकेको छैन। सहमति नजुटेकै कारण शव हालसम्म लासघरमै राखिएको प्रहरीले जनाएको छ।
शुक्रबार अन्तिम संस्कारको विषयलाई लिएर माइती र ससुराली पक्षबीच विवाद चर्किएपछि जिल्ला प्रहरी कार्यालय परिसर केही समय तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय अवस्था रोक्न ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो।
यसअघि श्रीमान् पक्षले तत्काल दाहसंस्कार गर्नुपर्ने अडान राख्दै आएको थियो। यता माइती पक्षले भने पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि मात्रै शव बुझ्ने र अन्तिम संस्कार गर्ने अडान लिएको छ।
यसैबीच, घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान् भरत धामीसहित पाँच जनालाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ। पक्राउ पर्नेमा उनका बाजे, बज्यै, फुपू र बहिनी पनि रहेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथलाकी पूजा धानुकले प्रेम सम्बन्धपछि गत मंसिरमा धनगढीका भरत धामीसँग विवाह गरेकी थिइन्। विवाह भएको नौ महिना नपुग्दै उनको मृत्यु भएपछि घटनालाई लिएर विभिन्न आशंका उत्पन्न भएका छन्। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
