रातो सारीदेखि धार्मिक सद्भावसम्म : एलिजे जमालीको सन्देशले सामाजिक सञ्जालमा पायो चर्चा

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय कन्टेन्ट क्रिएटर एलिजे जमालीले धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै पछिल्लो समय धेरैको ध्यान तानेकी छन्।
मुस्लिम समुदायसँग सम्बन्धित जमालीले आफ्ना भिडियोमार्फत विभिन्न संस्कृतिप्रति सम्मान व्यक्त गर्दै आएका छन्। हालै सार्वजनिक भएको एक भिडियोमा उनी रातो सारीमा देखिएकी छन्। भिडियोमा उनले रातो रङको प्रशंसा गर्दै सबैलाई सकारात्मक सोचका साथ आफ्नो रोजाइअनुसारको पहिरन अपनाउन आग्रह गरेकी छन्।
जमालीले धर्मभन्दा माथि मानवता हुने सन्देश दिँदै सबै समुदायबीच आपसी सम्मान, प्रेम र सहअस्तित्व कायम रहनुपर्ने धारणा व्यक्त गरेकी छन्। उनका सामग्रीमा धार्मिक विभाजनभन्दा पनि मानव सम्बन्ध र पारिवारिक एकतालाई प्राथमिकता दिइएको देखिन्छ।
उनको वैवाहिक जीवन पनि सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आएको छ। नेपाली कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीसँग वैवाहिक सम्बन्धमा रहेकी जमालीले अन्तरधार्मिक सम्बन्धमा पनि पारस्परिक सम्मान, विश्वास र समझदारी नै सम्बन्धको आधार हुने सन्देश दिँदै आएकी छन्।
नेपाल विविध धर्म, भाषा र संस्कृतिको साझा थलो भएकाले सामाजिक सञ्जालमार्फत फैलाइने यस्ता सकारात्मक सन्देशले आपसी सद्भाव र सहिष्णुताको संस्कृतिलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि जमालीका यस्ता सन्देशलाई मानवता, सहअस्तित्व र सामाजिक एकताको उदाहरणका रूपमा टिप्पणी गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
