घटना

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका युवकको ज्यान गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर, १८ साउन । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेपछि उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनका २३ वर्षीय उत्तमसिंह कार्की रहेका छन्। शनिबार विश्वविद्यालयको दोस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार कार्की शनिबार बिहान स्नातक तह होटल व्यवस्थापन (बीएचएम) प्रथम सेमिस्टरको प्रवेश परीक्षामा सहभागी भएका थिए। बिहान ८:१५ बजे सुरु भएको परीक्षा दिएर करिब ९:१५ बजे कक्षाकोठाबाट बाहिर निस्किएपछि उनले विश्वविद्यालय भवनको दोस्रो तलाको रेलिङमा चढेर हामफालेका थिए।

घटनालगत्तै उनलाई एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो। तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।

मृतक कार्की स्थानीय व्यवसायी पदमसिंह कार्कीका कान्छा छोरा हुन्। उनले वैजनाथ माध्यमिक विद्यालयबाट माध्यमिक तह (प्लस टु) उत्तीर्ण गरेका थिए।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।