दाङमा पाँच दिनदेखि त्रास फैलाएको भैंसी प्रहरीद्वारा नियन्त्रणमा

दाङ , १८ साउन । दाङको घोराहीमा पाँच दिनदेखि स्थानीय क्षेत्रमा त्रास फैलाउँदै आएको एउटा भैंसीलाई प्रहरीले करिब ६ घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–१८ रझेनास्थित बधशालाबाट मासुका लागि लैजाँदै गर्दा भैंसी बिच्किएर भागेको थियो। बध गर्ने स्थानमा धेरै मानिस देखेपछि डराएको भैंसीले खरिदकर्तामाथि नै आक्रमण गर्दै भागेको प्रहरीले जनाएको छ।
भागेको भैंसीले बाटोमा भेटिएका मानिसमाथि आक्रमण गर्दा चार जना घाइते भएका थिए। नियन्त्रणमा लिन नसकेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार आइतबार बेलुकी प्रहरीको करिब दुई दर्जन सदस्यीय टोली परिचालन गरी विशेष अपरेशन सञ्चालन गरिएको थियो। करिब ६ घण्टाको प्रयासपछि भैंसीलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए।
प्रहरीका अनुसार भागेको भैंसी सुरुमा बाँसघारीमा लुकेर बसेको थियो। पछि मकैबारीभित्र रहेको कुखुराको खोरमा आराम गरिरहेको अवस्थामा फेला परेको थियो। त्यसपछि बधशालाबाट अन्य भैंसी ल्याएर छाडेपछि उक्त भैंसी शान्त बनेको र सोही अवसरमा नियन्त्रणमा लिएर ट्र्याक्टरमार्फत सम्बन्धित व्यापारीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार शनिबार र आइतबार गरी भैंसीको आक्रमणबाट चार जना घाइते भएका थिए। लामो प्रयासपछि भैंसी नियन्त्रणमा आएपछि स्थानीयले राहत महसुस गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
