प्रधानमन्त्रीसँग सुदूरपश्चिमका समसामयिक विषयमा छलफल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका समसामयिक विकास, पूर्वाधार, शिक्षा, कृषि तथा भूमि व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा आज सम्माननीय प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्रीले सुदूरपश्चिमका विभिन्न जिल्लाको क्षेत्रगत भ्रमणका क्रममा देखिएका समस्या तथा जनताका गुनासोबारे चासो राख्दै विस्तृत जानकारी लिएका थिए।
छलफलका क्रममा कैलालीको चिसापानीदेखि कञ्चनपुरको महेन्द्रनगरसम्मको पूर्व–पश्चिम राजमार्गमा खुला रूपमा छाडिएका पशुचौपायाका कारण सर्वसाधारणले भोग्दै आएको समस्या तथा यसको दीर्घकालीन समाधानका उपायबारे पनि कुराकानी भएको थियो।
त्यसैगरी गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल सञ्चालन, एमबीबीएससहितका चिकित्सा शिक्षा कार्यक्रम सुरु गर्ने विषयमा समेत जानकारी आदानप्रदान तथा छलफल भएको बताइएको छ।
यस्तै, सुदूरपश्चिमका अव्यवस्थित बसोबासी, सुकुम्बासी तथा ऐलानी जग्गाको लालपुर्जा वितरणको अवस्थाबारे जानकारी गराउनुका साथै आवश्यक पहलका विषयमा पनि छलफल भएको थियो।
भेटमा सेती लोकमार्ग, चिसापानी–जंगलघाट सडक खण्ड, खुटिया–दिपायल सडक खण्ड तथा महाकाली करिडोरको वर्तमान अवस्था र ती आयोजनाको प्रगतिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।
कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने क्रममा देखिएका समस्या तथा सुदूरपश्चिमका अन्य समसामयिक विकासका विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
