आस्था /आध्यात्म

मंगलपुरमा मुक्ति पर्व सम्पन्न, त्याग र बलिदानका महान् सन्तहरूको स्मरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंगलपुर (चौमाला), ३० साउन । मंगलपुर (चौमाला) मा मुक्ति पर्वको अवसरमा विशेष सत्संग कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सन्त–भक्तहरूले सन्त निरंकारी मिशनको नेपालमा भएको प्रारम्भिक आध्यात्मिक यात्रामा महान् सन्तहरूले गर्नुभएको त्याग, तपस्या, संघर्ष र बलिदानको स्मरण गर्दै मुक्ति पर्वको आध्यात्मिक महत्वमाथि प्रकाश पारेका थिए।

सत्संगमा मुम्बईबाट आउनुभएका महात्मा प्रेम सिंहजीले सहभागी सन्त–भक्तहरूलाई सम्बोधन गर्दै नेपालमा सन्त निरंकारी मिशनको प्रारम्भिक प्रचार–प्रसार निकै कठिन परिस्थितिबाट अघि बढेको बताउनुभयो। त्यतिबेला नेपालमा सन्त–महात्माहरूको संख्या निकै न्यून रहेको र सत्संग आयोजना गर्ने स्थानसमेत सीमित रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले मिशनको प्रारम्भिक समयमा नेपालका पुराना सन्त–भक्तहरूले अनेकौँ कठिनाइ र चुनौती सामना गर्दै आध्यात्मिक सन्देशलाई अघि बढाएको स्मरण गर्नुभयो। विशेषगरी नेपालका प्रथम ज्ञान प्रचारक महात्मा लालबहादुरजीले नेपालमा मिशनको प्रचार–प्रसारका क्रममा जेलनेलसमेत भोग्नुपरेको अवस्थालाई उहाँले स्मरण गर्नुभयो।

त्यस्तै, महात्मा ऋषिजी नेपाल आउनुभएको समयमा उहाँलाई समेत पक्राउ गरी जेलमा राखिएको प्रसंग उल्लेख गर्दै महात्मा प्रेम सिंहजीले पछि सद्गुरुको कृपा र जगतजीको पहलमा उहाँलाई सकुशल उद्धार गरी भारत पठाइएको बताउनुभयो।

त्यस समय नेपालमा खुलेर सत्संग गर्ने वातावरण सहज नभएकाले लुकिछिपी रातको समयमा घर तथा गोठमा भय र कठिन परिस्थितिका बीच सत्संग गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। सीमित स्रोत–साधन र प्रतिकूल परिस्थितिका बाबजुद प्रारम्भिक सन्त–महात्माहरूले आफ्नो विश्वास र आध्यात्मिक सेवाको मार्गबाट विचलित नभई मिशनको सन्देशलाई निरन्तर अघि बढाएको उहाँको भनाइ थियो।

महात्मा प्रेम सिंहजीले महान् सन्तहरूको तप, त्याग, समर्पण र बलिदानकै परिणामस्वरूप आज नेपालमा सन्त निरंकारी मिशनले व्यापक स्वरूप लिन सफल भएको बताउनुभयो। उहाँले ब्रह्मलीन महात्माहरूले मानव कल्याण र आध्यात्मिक जागरणका लागि पुर्‍याउनुभएको योगदान वर्तमान पुस्ताका लागि सदैव प्रेरणाको स्रोत रहने उल्लेख गर्नुभयो।

मुक्ति पर्व पनि मानव कल्याण तथा मिशनको आध्यात्मिक सन्देशलाई अघि बढाउन आफ्नो जीवनसमेत समर्पण गर्न नहिच्किचाउने ती महान् सन्त–महात्माहरूको स्मृतिमा मनाइँदै आएको उहाँले बताउनुभयो। उहाँका अनुसार मुक्ति पर्व केवल स्मरण गर्ने अवसर मात्र नभई महान् सन्तहरूले देखाएको त्याग, सेवा, प्रेम, समर्पण र आध्यात्मिक मार्गलाई आफ्नो जीवनमा आत्मसात् गर्ने पावन अवसर पनि हो।

मुक्ति पर्वका अवसरमा बाबा बुटा सिंहजी, बाबा अवतार सिंहजी, बाबा गुरबचन सिंहजी, बाबा हरदेव सिंहजी तथा सद्गुरु माता सविन्दर हरदेव सिंहजीले सन्त निरंकारी मिशन र मानवताको सेवामा पुर्‍याउनुभएको योगदानलाई श्रद्धापूर्वक स्मरण गरिएको थियो।

सत्संगमा सहभागी सन्त–भक्तहरूले भजन तथा प्रवचनका माध्यमबाट मुक्ति पर्वको आध्यात्मिक महत्व, महान् सन्तहरूको त्याग र बलिदान तथा मानव जीवनमा प्रेम, सेवा, समर्पण र ब्रह्मज्ञानको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रमको सञ्चालन जंगबहादुर बुर्लाकोटीले गर्नुभएको थियो। मुक्ति पर्वका अवसरमा आयोजित सत्संगले विगतका महान् सन्तहरूको योगदानलाई स्मरण गर्दै वर्तमान पुस्तालाई आध्यात्मिक जागरण, मानव सेवा र सद्गुरुको शिक्षाको मार्गमा अघि बढ्न प्रेरित गरेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।