दुवै हात नभएका व्यक्ति ढुंगा हानेको आरोपमा पक्राउ

इस्लामाबाद, १७ अगस्त । पाकिस्तानको राजधानी इस्लामाबादमा प्रदर्शनका क्रममा दुवै हात नभएका एक व्यक्तिलाई ढुंगा हानेको आरोपमा प्रहरीले पक्राउ गरेपछि अदालतमा पुगेको घटनाले प्रहरीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ।
पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा गत अगस्ट ५ मा भएको प्रदर्शनका क्रममा अल्ताफ उल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि प्रदर्शनका क्रममा ढुंगा हानेको तथा लाठी चलाएको आरोप लगाइएको थियो।
तर अदालतमा सुनुवाइका क्रममा अल्ताफका वकिलले प्रहरीको आरोपमाथि प्रश्न उठाउँदै दुवै हात नभएका व्यक्तिले ढुंगा कसरी हान्न सक्छन् भन्ने तर्क गरे। त्यसपछि अदालतले अल्ताफको शारीरिक अवस्था परीक्षण गर्दा उनका दुवै हात नभएको पुष्टि भएको थियो।
प्रहरीले लगाएको आरोप पुष्टि हुने आधार नदेखिएपछि ड्युटी मजिस्ट्रेट रिजवानुद्दिनले अल्ताफ उल्लाहलाई मुद्दाबाट रिहा गर्न आदेश दिएका छन्।
घटनापछि पाकिस्तानमा प्रदर्शनकारी पक्राउ गर्ने क्रममा प्रहरीले अपनाएको अनुसन्धान तथा पहिचान प्रक्रियामाथि प्रश्न उठेको छ। वास्तविक प्रदर्शनकारीको पहिचान नगरी गलत व्यक्तिलाई पक्राउ गरिएको हुन सक्ने भन्दै घटनालाई लिएर विभिन्न टिप्पणी भइरहेका छन्।
अदालतमा अल्ताफको शारीरिक अवस्थासँग सम्बन्धित तथ्य खुलेपछि प्रहरीले गरेको प्रारम्भिक दाबी र पक्राउ प्रक्रियामाथि थप छानबिन आवश्यक देखिएको बताइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
