रास्वपाको स्थानीय चुनावमा उम्मेदवार बन्न चार चरण पार गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया कडा बनाउने भएको छ। मेयरदेखि वडाध्यक्षसम्मका आकांक्षीले पार्टीले तय गरेका चार चरणको परीक्षण तथा छनोट प्रक्रिया पार गरेपछि मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ।
रास्वपाले उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई ‘क्यान्डिडेट क्लब’मा आबद्ध गराउने र क्लबको प्रक्रियामा सहभागी नभएकालाई पार्टीको उम्मेदवारका रूपमा मान्यता नदिने जनाएको छ। क्लबमा प्रवेश गरेपछि पनि निरन्तर चारवटा चरण पार गर्नुपर्नेछ।
पार्टीका महामन्त्री विपीन आचार्यका अनुसार स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार भइसकेको छ। छनोट प्रक्रियामा लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचन गरी चारवटा आधारलाई समेटिएको छ।
यी सबै चरण पार गरेपछि मात्रै रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न सकिनेछ। पार्टीले यसपटक नयाँ अनुहारलाई प्राथमिकता दिने नीति लिएको बताइएको छ। यसअघि फागुन २१ गतेको निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएकाहरूलाई स्थानीय तहको उम्मेदवार नबनाउने तयारीसमेत रास्वपाले गरेको छ।
छनोट प्रक्रियाको पहिलो चरणका रूपमा रहेको लिडरसिप एकेडेमीमार्फत आकांक्षीको नेतृत्व क्षमता, वैचारिक स्पष्टता, राजनीतिक संस्कार, नीतिगत बुझाइ, जनसेवाप्रतिको दृष्टिकोण तथा स्थानीय सुशासनसम्बन्धी ज्ञान परीक्षण गरिनेछ। समग्र मूल्यांकनमा एकेडेमीको नतिजालाई २५ प्रतिशत अंकभार दिइनेछ।
अर्थात्, आकांक्षीले लिडरसिप एकेडेमीको परीक्षणमा न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ। तोकिएको स्तरमा उत्तीर्ण हुनेहरू मात्रै छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्न पाउनेछन्।
रास्वपाले आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभरका ७५३ स्थानीय तह र ६ हजार ७४३ वडाका विभिन्न पदमा उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। निर्वाचनमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकासहित स्थानीय तहका कुल ३५ हजार २२१ पदमा प्रतिस्पर्धा हुँदैछ।
जसअन्तर्गत २९३ मेयर, २९३ उपमेयर, ४६० गाउँपालिका अध्यक्ष, ४६० उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, १३ हजार ४८६ खुला वडा सदस्य, ६ हजार ७४३ महिला वडा सदस्य र ६ हजार ७४३ दलित महिला वडा सदस्य पद रहेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
