घटना

कैलाश यात्रामा सहभागी इशा फाउन्डेसनका ८० तीर्थयात्री बेपत्ता, जग्गी वासुदेव भावुक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपछि पवित्र कैलाश यात्रामा सहभागी इशा फाउन्डेसनका ८० जना तीर्थयात्री बेपत्ता भएको जनाइएको छ। घटनापछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव भावुक बनेका छन्।

तिब्बतस्थित इशा फाउन्डेसनको शिविरमा सम्बोधन गर्ने क्रममा सद्गुरु भावुक हुँदै रोएका थिए। उनले भारत र चीनका सम्बन्धित अधिकारीसँग घटनास्थलसम्म पुगेर खोज तथा उद्धार कार्यमा सहयोग गर्न आफूहरूलाई अनुमति दिन आग्रह गरेका छन्।

इशा फाउन्डेसनका अनुसार कैलाश पर्वतको यात्रा सकेर फर्किने क्रममा तीर्थयात्रीहरूको समूह अचानक आएको बाढी तथा माटो र ढुंगाको तीव्र बहावमा परेको थियो। बाढीका कारण समूहले प्रयोग गरिरहेको अध्यागमन तथा आवागमनसम्बन्धी पूर्वाधारसमेत क्षतिग्रस्त भएको जनाइएको छ।

बाढी आउनुअघि नै पुगेका थिए समूहका नेता

फाउन्डेसनका अभिलेखअनुसार समूहका नेता इशाङ्गा प्रवीण बिहान ९ः०५ बजे सुरक्षित रूपमा घटनास्थलमा पुगेको जानकारी दिएका थिए। त्यसको करिब नौ मिनेटपछि अर्थात् बिहान ९ः१४ बजे उक्त क्षेत्रमा बाढी आएको बताइएको छ।

त्यसपछि प्रवीणको मोबाइल फोन दिनभर पुनः सक्रिय नभएको फाउन्डेसनले जनाएको छ। यसका कारण समूहका सदस्यहरू भवनभित्रै रहेको हुनसक्ने आशंका गरिएको छ।

बाढी र त्यसपछि थुप्रिएको माटो तथा भग्नावशेषका कारण प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भइरहेको जनाइएको छ। साथै सञ्चार तथा आवागमनका नियमित माध्यमसमेत प्रभावित भएकाले बेपत्ता तीर्थयात्रीको अवस्थाबारे तत्काल जानकारी लिन समस्या भएको बताइएको छ।

घटनास्थल पुग्न विशेष अनुमति माग

सद्गुरुले भारत, चीन तथा सम्बन्धित विदेशी कूटनीतिक निकायसँग समन्वय गरी घटनास्थलसम्म पुग्न विशेष अनुमति उपलब्ध गराउन आग्रह गरेका छन्।

आफू स्वयं प्रभावित क्षेत्रमा पुगेर उद्धारकर्मीलाई सहयोग गर्न तथा बेपत्ता तीर्थयात्रीका परिवारलाई आफ्ना प्रियजनको खोजीमा साथ दिन चाहेको सद्गुरुले बताएका छन्।

घटनापछि बेपत्ता तीर्थयात्रीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।