टीकापुरको विकासका लागि ‘विवाद होइन, संवाद र सहकार्य’ आवश्यक : अध्यक्ष खड्का

टीकापुर, १३ भाद्र । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले टीकापुरको विकास, समृद्धि र सामाजिक एकताका लागि स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य तथा सकारात्मक संवाद आवश्यक रहेको बताएका छन्।
समाजमा विचार, दृष्टिकोण र मत फरक हुनु स्वाभाविक भए पनि त्यसलाई अनावश्यक विवाद र द्वन्द्वको विषय बनाउन नहुने उनको भनाइ छ। कुनै विषयमा असहमति भए संवाद र छलफलमार्फत समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन्।
टीकापुरलाई साझा घरको संज्ञा दिदै अध्यक्ष खड्काले स्थानीय सरकारलाई निर्णयविहीन र अन्योलग्रस्त बनाउने गतिविधि कसैको हितमा नहुने बताए। विकासका लागि सबै पक्षबीच विश्वास, सहकार्य र समन्वयको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।
“हामी पनि यही समाजका नागरिक हौ। केही विषयमा बसेर छलफल गरेका छौ। हाम्रो उद्देश्य कसैलाई दोष लगाउनु, विवाद सिर्जना गर्नु वा कसैको पक्ष–विपक्षमा उभिनु होइन,” अध्यक्ष खड्काले भने, “स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय कायम गर्दै टीकापुरको विकासमा सकारात्मक योगदान पुर्याउनु नै हाम्रो उद्देश्य हो।”
उनले स्थानीय सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने र निजी क्षेत्रले पनि आफ्नो सामाजिक तथा व्यावसायिक जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। विकासका विषयमा एकअर्कालाई कमजोर बनाउनेभन्दा हातेमालो गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरे।
अध्यक्ष खड्काले सामाजिक सञ्जालमा अभिव्यक्ति दिदा समेत सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। कुनै विषयको वास्तविकता र सत्यतथ्य नबुझी गरिने टिप्पणीले समाजमा भ्रम, गलत बुझाइ र अनावश्यक विवाद सिर्जना गर्न सक्ने भन्दै उनले तथ्यमा आधारित भएर मात्र धारणा सार्वजनिक गर्न आग्रह गरे।
“सामाजिक सञ्जालमा बोल्दा हामीले आफ्नो शब्दको प्रभाव पनि बुझ्नुपर्छ। जिम्मेवार व्यक्तिबाट आउने एउटा गलत वा अपूर्ण सूचनाले समाजमा ठूलो भ्रम सिर्जना गर्न सक्छ,” उनले भने।
टीकापुरको विकास कुनै एक व्यक्ति, संस्था वा क्षेत्रको मात्र जिम्मेवारी नभई सम्पूर्ण नगरवासीको साझा दायित्व भएको खड्काले बताए। स्थानीय सरकार, उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चार क्षेत्र तथा आम नागरिकबीच सहकार्य भए मात्र टीकापुरले अपेक्षित गति लिन सक्ने उनको धारणा छ।
उनले सबै पक्षलाई “विवाद होइन, संवाद गरौ। आरोप होइन, सहकार्य गरौ। विभाजन होइन, एकता कायम गरौ” भन्ने आग्रहसमेत गरेका छन्।
टीकापुरको हितलाई केन्द्रमा राखेर सबै पक्षले सकारात्मक सोचका साथ अघि बढे समृद्ध टीकापुर निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै खड्काले भने, “टीकापुर हामी सबैको साझा घर हो। यसको विकास, सम्मान र समृद्धिको जिम्मेवारी पनि हामी सबैको साझा जिम्मेवारी हो।”
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
