नागरिक उन्मुक्ति पार्टी नेपालले विरासत फर्काउने अभियान थालेको दाबी

टीकापुर, १७ असोज । नागरिक उन्मुक्ति पार्टी नेपालले कैलालीमा आफ्नो पुरानो राजनीतिक प्रभाव फर्काउने अभियान थालेको दाबी गरेको छ। पार्टीका संरक्षकले कैलालीमा सबैभन्दा बढी स्थानीय तह जितेको पार्टीको विरासत पुनःस्थापित गर्ने अभियान सुरु भएको बताएका छन्।



पार्टीले सोही अभियानअन्तर्गत कैलालीको कैलारी गाउँपालिकाबाट पार्टी प्रवेश कार्यक्रम सुरु गरेको जनाएको छ। कार्यक्रममा विभिन्न दल तथा समूहमा आबद्ध ७६ जना नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेको पार्टीले जनाएको छ।

पार्टीका नेताहरूले पुरानो नागरिक उन्मुक्ति पार्टीको राजनीतिक आधार र जनसमर्थनलाई पुनःसंगठित गर्दै पार्टीलाई बलियो र एकढिक्का बनाउने अभियान अघि बढाइएको बताएका छन्। उनीहरूले विगतमा कैलालीमा प्राप्त गरेको राजनीतिक उपलब्धि र जनमतलाई पुनःस्थापित गर्ने लक्ष्यसहित संगठन विस्तारलाई प्राथमिकता दिएको बताएका छन्।

कैलालीका स्थानीय तहमा पार्टीको प्रभाव पुनःस्थापित गर्न गाउँ तथा टोलस्तरसम्म संगठन विस्तार र नयाँ सदस्यलाई पार्टीमा आबद्ध गराउने अभियानलाई तीव्रता दिने पार्टीको तयारी छ।
कैलारीबाट सुरु भएको पार्टी प्रवेश कार्यक्रमलाई पार्टीले आफ्नो राजनीतिक पुनरुत्थानको सुरुवातका रूपमा लिएको छ। पार्टी नेतृत्वले नागरिक उन्मुक्ति पार्टी नेपाल अब बलियो, एकताबद्ध र जनतामाझ सक्रिय शक्तिका रूपमा अघि बढ्ने दाबी गरेको छ।


You must be logged in to post a comment.