जुम्ल्याहा दिदीबहिनीले जुम्ल्याहा दाजुभाइसँग विवाह गरे

केरल — भारतको केरल राज्यको कोट्टायम जिल्लास्थित चङ्गनसेरीमा दुई जुम्ल्याहा दिदीबहिनीले दुई जुम्ल्याहा दाजुभाइसँग विवाह गरेका छन्। अझ रोचक पक्ष त के छ भने उनीहरूको विवाहसमेत जुम्ल्याहा पादरी दाजुभाइले सम्पन्न गराएका छन्।

चङ्गनसेरी मेट्रोपोलिटन चर्चमा भएको विवाहमा अखिल र निखिल नामका जुम्ल्याहा दाजुभाइले मागी र मारिया नामका जुम्ल्याहा दिदीबहिनीसँग विवाह गरेका हुन्। दुवै परिवारको चाहना चारै जना एकै ठाउँमा रहने वातावरणमा विवाह गर्ने थियो। उपयुक्त स्थानको खोजीका क्रममा चङ्गनसेरीको चर्च छनोट भएपछि उनीहरूको चाहना पूरा भएको हो।

विवाहको अर्को विशेष आकर्षण जुम्ल्याहा पादरी फादर एन्टो र फादर आजो बने। दुलहीहरूले आफूहरूको विवाह जुम्ल्याहा पादरीबाटै सम्पन्न होस् भन्ने चाहना राखेका थिए। त्यसका लागि खोजी गर्दा उनीहरूले जुम्ल्याहा पादरी दाजुभाइ भेटेका थिए। दुवैले पनि खुसीसाथ विवाह सम्पन्न गराउने जिम्मेवारी स्वीकार गरे।

पादरीद्वयले आफ्नो जीवनमा यस्तो संयोग पहिलोपटक आएको बताएका छन्। उनीहरूका अनुसार दुई जोडी जुम्ल्याहाको विवाह एकै समारोहमा सम्पन्न गराउन पाउनु उनीहरूका लागि पनि अविस्मरणीय अवसर हो। उनीहरूले दुवै जोडीको नयाँ जीवनयात्रा पनि जन्मजस्तै सँगसँगै सुरु भएको बताएका छन्।
विवाहपछि दुलहा–दुलहीले आफ्ना अभिभावकको लामो समयदेखिको चाहना जुम्ल्याहा दाजुभाइ र जुम्ल्याहा दिदीबहिनीबीच विवाह गराउने रहेको बताएका थिए। उनीहरूले अभिभावकको त्यो सपना पूरा भएकोमा खुसी व्यक्त गरे।
अखिल र निखिल दुवै मर्चेन्ट नेभीमा कार्यरत छन् भने मागी र मारिया सूचना प्रविधि क्षेत्रमा कार्यरत छन्।
चर्चमा उपस्थित पाहुनाले जुम्ल्याहा पादरीबाट जुम्ल्याहा दाजुभाइ र जुम्ल्याहा दिदीबहिनीको विवाह सम्पन्न भएको दृश्य आफूहरूका लागि असाधारण र अविस्मरणीय अनुभव भएको बताएका छन्। अनौठो संयोगका कारण यो विवाह अहिले चङ्गनसेरी क्षेत्रमा चर्चाको विषय बनेको छ।

