धनगढीमा घरबेटीबाटै किशोरीमाथि बलात्कारको आरोप, पुर्पक्षका लागि थुनामा

धनगढी, २६ असोज । आफ्नै घरमा डेरा गरी बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा धनगढीका एक घरधनी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

धनगढी उपमहानगरपालिका–५ तारानगरका तिलक चौधरीलाई जिल्ला अदालत कैलालीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। न्यायाधीश भरतकुमार दहालको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।

अदालतको आदेशअनुसार, किशोरी केही महिनादेखि चौधरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। चौधरीले प्रेम सम्बन्धको नाटक गरी घटनाबारे कसैलाई नभन्न धम्की दिएको आरोप छ। सोही आरोपका आधारमा उनीविरुद्ध कानुनबमोजिम कारबाहीको माग गर्दै अभियोगपत्र दायर गरिएको थियो।

अदालतमा बयान दिने क्रममा चौधरीले किशोरी आफ्नो घरमा भाडामा बस्दै आएको र चिनजान भएपछि फोन तथा ह्वाट्सएपमार्फत कुराकानी हुने गरेको बताएका छन्। उनले आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमा शारीरिक सम्पर्क भएको जिकिर गरेका छन्।
तर, तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अन्तर्गतको कसुरमा अभियोग लगाइएको छ।
मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेकाले चौधरीमाथि लागेको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन।


