खेलकुद

पहिलो जित निकाल्न कर्णालीले चितवनबाट पायो १३१ रनको लक्ष्य 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इंग्ल्यान्डका अलराउन्डर रवि बोपराको अर्धशतक मद्दतमा चितवन राइनोजले एनपिएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा १३० रन बनायो । 

बिज्ञापन

चितवनका लागि खेलिरहेका इंग्ल्यान्डका अलराउन्डर रवि बोपराले ४० बलमा सात चौका र एक छक्कासहित अविजित सर्वाधिक ५९ रन बनाए । यसअघि उनले १७.१ ओभरमा सोमपाललाई चौका प्रहार गर्दै ५० रन पूरा गरेका थिए । उनको अर्धशतकसँगै चितवनले १११ रन बनाउँदा ६ विकेट गुमाएको थियो । उनी लगातार दोस्रो अर्धशतक बनाउने एनपिएलको पहिलो खेलाडी बनेका छन् । 

कप्तान कुशल मल्लले २७ बलमा २३ रन बनाएर आउट भए । विपिन रावलले ११ बनाएका हुन् । कर्णालीका कप्तान सोमपाल कामीले चितवनका २० वर्षीय ओपनर लक बेन्केनस्टेइनलाई बोल्ड गर्दै डकआउट गराएका थिए । अर्का ओपनर दीपक बोहरा आठ, नामिबियाका जान निकोल  इटन नाै, सोहेल तनविर डकआउट र अमर रौटेला नाै रन बनाए आउट भएका थिए । शरद भेषवाकर ६ रनमा अविजित रहे । 

नेपाल यू– १६ टिमबाट खेलिसकेका विपिन शर्माले चार ओभरमा २१ रन खर्चिँदै तीन विकेट लिए । ओमानका पूर्वकप्तान जिसन मक्सुदले दुई तथा सोमपाल कामी, नन्दन यादवले समान एक विकेट लिएका थिए । गुल्सन झा र युनिशविक्रम ठकुरी तथा पहिलो खेल खेलिरहेका अस्ट्रेलियाका विलियम बोसिस्टो विकेटविहीन भए । 

प्रतियोगितामा कर्णाली याक्स पहिलो जितको खोजीमा छ । यसअघि टोली जनकपुरसँग आठ विकेट तथा काठमाडौंसँग तीन विकेटले पराजित भएको थियो । 

चितवन लगातार तेस्रो जितको खोजीमा छ । तनविर चम्किएपछि चितवनले पोखरालाई ८७ रन र काठमाडौंलाई पाँच विकेटले हराएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।