आस्था /आध्यात्म

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ तथा बस्तीमा ‘अटवारी पर्व’को तयारी सुरु भएको छ।

श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतवारका दिन पर्ने यो पर्वका लागि अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका परर बनाउन आवश्यक पर्ने खाद्यान्नको खोजीमा स्थानीय जुटेका हुन्।

बिज्ञापन

आज यस क्षेत्रमा अटवारी पर्व मनाउने परम्परा रहेकाले आवश्यक सामग्री जुटाउने काम भएको धनगढी उपमहानगरापालिका–१५ कनरीका थारु अगुवा रतीराम चौधरीले बताए। पूजाआरधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने काम भइरहेको उनले बताए।

गाँउका बस्तीमा पर्वको व्यवस्थापनका लागि परिवारका सदस्य जम्मा भएर प्रत्येकले गर्ने कामको बाँडफाँड गर्न सामुहिक छलफलमा जुटेका छन्। पर्वमा दर खानाका लागि आज दिनभरि माछा मार्ने र विभिन्न थरीका तरकारी, सरसामानको जोहो गर्ने काम भइरहेको कनरी टोलका भलमन्सा टेकराज चौधरीले बताए। “अनदीको चामलबाट विभिन्न खानाका परिकार तयार पार्ने गरिन्छ”, उनले भने, “थारु रैथाने जातको उक्त धान प्राप्तिका लागि टाढाटाढाका थारु गाउँ, बस्तीमा गएर खोजी गर्ने र साटबदल गर्ने गर्छौँ।”

दुई दिनसम्म मनाइने यो पर्वमा आइतवारको अघिल्लो दिन व्रतालुले दर खाने चलन छ। पर्वको पहिलो दिन व्रतालु पानीसमेत नखाई आधा दिन निरहार व्रत बस्ने गर्दछन् भने मध्याह्नमा नजिकैको नदी, पोखरी वा तलाउमा गएर स्नान गरी पूजाआरधना गर्ने चलन रहेको टेकराजले बताए। यसरी पूजाआरधाना गरिसकेपछि घरमा तयार गरिएका खानाका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याएपछि मात्रै व्रतालुले खाने गर्दछन्। यस पर्वका दिन विशेष गरी अनदीको चामलको रोटी, केरा, काँक्रो, अम्बा, सुकेको माछालगायत खानाका साथै फलफूल खाने परम्परा रहेको उनले बताए।

पर्वको दोस्रो दिन अर्थात् सोमवार बिहानै व्रतालुहरूले स्नान गरी पुनः पूजाआरधना गर्दछन्। गुइँठाको आगो बाली ध्यू र सल्लाका साना टुक्रा हालेर पूजा गर्ने परम्परा रहेको स्थानीय बताउँछन्। धार्मिक नित्यकर्म सकिएपछि अनदीको चामलको भात, रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत खानाका मिठामिठा पकवान खाने गर्दछन्। तयार गरिएका खानाका परिकारमध्ये एक भाग आफ्ना विवाहित छोरीचेटीलाई ‘अग्रासन’ अर्थात् कोसेली दिनका लागि पहिले अलग्गै छुट्याइन्छ। त्यसपछि मात्रै व्रतालुले खाने गर्दछन्।

थारु राजा दङ्गीशरणको राज्य अप्ठ्यारोमा परेको बेला सुर्खेतको काँक्रेविहार घुम्न आएका पाँच पाण्डवमध्येका माइला भाइ भीमले राजा दङ्गीशरणलाई सहयोग गरेकाले भीमको नाममा व्रत बसेर अटवारी पर्व मनाउने चलन चलेको थारु अगुवा रतीरामले उल्लेख गरे। “कसैले भीम आइतवारका दिन एक दानवको आहार बन्न गएको अवस्थामा त्यो दानवलाई मारेर गाउँलेलाई दानवको आतकङ्बाट मुक्त गराएका कारण भीम र सूर्यदेवको उपासना गरेर यो पर्व मनाउने गरिएको जनविश्वास रहिआएको छ”, उनले भने।

विवाहित छोरीलाई उपहार दिएर सम्बन्ध प्रगाढ बनाउने यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले मनाउने गर्दछन्।

देउखुरी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

“अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उनले भनिन्, “थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताए । “यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उनले भने । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउनुहुन्छ । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द«ोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।