बलियो थाइल्यान्डविरुद्ध पहिलो जितको खोजी

हालसम्म थाइल्यान्डलाई हराउन नसकेको नेपाली टोली पहिलो खेलमै थाइल्यान्डलाई हराएर प्रतियोगितामा बलियो सुरुवात गर्ने सोचमा हुनेछ ।
३ माघ, काठमाडौं । आइतबारदेखि काठमाडौंमा महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट सुरु हुँदैछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ ।

समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ । नेपाललाई घरेलु मैदानमै खेलेर यो इतिहास रच्ने अवसर छ ।
पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न लागेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्वकप खेलेर इतिहास रच्ने नै हुनेछ । त्यसका लागि नेपालले आफूभन्दा माथिल्लो वरियतामा रहेका अनि टेस्ट राष्ट्रलाई समेत हराउनु पर्नेछ ।
नेपालले समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । जसअन्तर्गत पहिलो खेल नेपालले आइतबार थाइल्यान्डसँग खेल्दैछ । खेल विहान ९ बजेदेखि सुरु हुँदैछ ।
थाइल्यान्ड नेपाली महिला क्रिकेट टोलीका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो । हालसम्म थाइल्यान्डलाई हराउन नसकेको नेपाली टोली पहिलो खेलमै थाइल्यान्डलाई हराएर प्रतियोगितामा बलियो सुरुवात गर्ने सोचमा हुनेछ ।
थाइल्यान्डले महिला टी-२० विश्वकप खेलिसकेको छ । सन् २०२० मा अस्ट्रेलियामा भएको टी-२० विश्वकपमा खेलेको थाइल्यान्ड समूह चरणबाट अगाडि बढ्न भने सकेको थिएन ।
त्यस्तै थाइल्यान्डले सन् २०१२, २०१६, २०१८, २०२२ र २०२४ मा महिला एसिया कप पनि खेलेको छ । सन् २०२२ को एसिया कपमा थाइल्यान्डले पाकिस्तानलाई हराएको थियो भने सेमिफाइनलसम्मै पुगेको थियो ।
आईसीसी महिला टी-२०आई वरियतामा थाइल्यान्ड १२औं स्थानमा छ । थाइल्यान्डसँग नेपाली महिला टोलीले पछिल्लोपटक विश्वकप एसिया छनोटको सुपर थ्री मा खेलेको थियो जहाँ नेपाल पराजित भएको थियो ।
त्यही छनोट पार गरेर नेपाल र थाइल्यान्ड ग्लोबल छनोटमा आइपुगेका हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
