समर्पणले जीवनमा शान्ति र खुशी ल्याउँछ : नरबहादुर बटाला

टीकापुर, जेठ २ । सन्त निरंकारी सत्संग भवन टीकापुरमा समर्पण दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय सन्तभक्तहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटालाले समर्पणले जीवनमा शान्ति र खुशी ल्याउँछ बताउँदै सत्गुरु बाबा हरदेव सिंहजी महाराजको जीवनबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले सत्गुरुले दिएका अमूल्य वचनलाई जीवनमा व्यवहारिक रुपमा उतार्नु नै वास्तविक समर्पण भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार समर्पण भन्नाले ‘म’ र ‘मेरो’ भन्ने भावनालाई त्यागेर आफ्नो सम्पूर्ण अस्तित्व सत्गुरुप्रति अर्पण गर्नु हो । बाबा हरदेव सिंहजी महाराजले आफ्नो सम्पूर्ण जीवन मानव कल्याणका लागि समर्पित गरेको उदाहरण आज विश्वभर फैलिएको निरंकारी मिशनबाट स्पष्ट देख्न सकिने उहाँले बताउनुभयो ।

उहाँले २६ वर्षको उमेरमै सन्त निरंकारी मिशनको जिम्मेवारी सम्हालेका बाबा हरदेव सिंहजी महाराजले सहनशीलता, नम्रता, प्रेम र सद्भावका साथ मिशनलाई विश्वभर विस्तार गरेको उल्लेख गर्नुभयो । रक्तदान अभियान, सरसफाइ अभियान तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रममार्फत मिशनले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा हासिल गरेको पनि उहाँले जानकारी दिनुभयो ।
प्राकृतिक विपत्ति तथा संकटका समयमा राहत तथा उद्धार कार्यमा मिशन सक्रिय रुपमा सहभागी हुँदै आएको उल्लेख गर्दै उहाँले यी सबै कार्यहरुमा बाबा हरदेव सिंहजी महाराजको प्रेरणा रहेको बताउनुभयो ।

उहाँले वास्तविक समर्पण भनेको सत्गुरुको मार्गदर्शनलाई पूर्ण रुपमा आत्मसात गर्नु रहेको धारणा व्यक्त गर्नुभयो । गुरुप्रति देखावटी भावनाले गरिएको कार्यले क्षणिक आनन्द मात्रै दिने तर सच्चा समर्पणले जीवनमा शान्ति, खुशी र आत्मसन्तुष्टि प्रदान गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमको अन्त्यमा उहाँले हरदेव वाणीका शब्दहरुको व्याख्या गर्दै सहभागी सन्तभक्तहरुलाई आध्यात्मिक आनन्द प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा टीकापुर भवनका मुखी महादेव भण्डारी, सेवादल सञ्चालक बलबहादुर सार्की, निवृत्त शिक्षक बलबहादुर रावल, पत्रकार हेमन्त माण्डब्य, टेक बहादुर सिंह, हर्क बहादुर रावल, बल बहादुर रावल, पूर्ण कुमाल, प्रह्लाद रावल, सरिता टमट्टा, प्रसन्न बटाला, धन सिह नेपाली, प्रविन बिक, भगवती बिक, हिमानी रावल लगायतका सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट समर्पण दिवसमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन दीपक रावलले गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.