अत्तरियामा समर्पण दिवस कार्यक्रम सम्पन्न, मानवता र प्रेमको सन्देश प्रवाह

अत्तरिया, २ जेठ । सन्त निरंकारी सत्संग भवन अत्तरियामा “समर्पण दिवस” विशेष कार्यक्रम श्रद्धा, प्रेम र मानवताको सन्देशका साथ सम्पन्न भएको छ । कार्यक्रम सत्गुरु बाबा हरदेव सिंह जी महाराजको पावन स्मृतिमा आयोजना गरिएको थियो । कार्यक्रममा उहाँको जीवनबाट प्रेरणा लिनुका साथै मानवता, प्रेम र समर्पणको भावलाई आत्मसात गर्नुपर्ने सन्देश दिइएको थियो ।
पुनर्वास शाखाका मुखी तथा प्रचारक महात्मा राम प्रसाद गुरुङ प्रमुख अतिथिका रुपमा प्रवचन गर्दै सत्गुरु बाबा हरदेव सिंह जी महाराज केवल २६ वर्षको उमेरमा सत््गुरुका रुपमा प्रकट हुनुभएको प्रसङ्ग स्मरण गराउनुभयो । उहाँले मानवता विरोधी उग्रवादीद्वारा बाबा गुरवचन सिंह जी महाराजको हत्या भएपछि भक्तजनहरुमा बदलाको भावना उत्पन्न भएको अवस्थामा समेत सत्गुरु बाबाले प्रेम र मानवताको मार्ग अपनाउनुभएको उल्लेख गर्नुभयो ।
उहाँले “खूनको बदला खून अवश्य लिनेछौँ, तर रगतलाई नालीमा होइन, नाडीमा बगाएर” भन्ने दिव्य सन्देश मार्फत समाजलाई प्रेम, एकता र भाइचाराको बाटोमा अघि बढाउन प्रेरित गर्नुभएको बताउनुभयो ।


प्रवचनका क्रममा समर्पणको भावलाई उदाहरणसहित स्पष्ट पार्दै ढुङ्गा पानीमा डुबेर बाहिर निकाल्दा सुक्ने, रुई भिजेपछि फेरि सुक्ने तर मिश्री पानीमा घुलेर पूर्ण रुपमा एकरुप हुने दृष्टान्त प्रस्तुत गरिएको थियो । त्यसैगरी मानव जीवन पनि निरंकारमा पूर्ण रुपमा एकरुप भई मानव सेवामा समर्पित हुनुपर्ने सन्देश दिनुभएको थियो ।
साथै उहाँले जात, धर्म, सम्प्रदाय, भाषा, भेषभूषा, रहनसहन वा रंगका आधारमा कुनै भेदभाव नगरी सम्पूर्ण मानव जातिको हितमा लाग्नुपर्ने प्रेरणा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अत्तरिया सत्संग भवनका मुख दीपक सिंहले पनि सत्गुरु बाबा हरदेव सिंह जी महाराजप्रति श्रद्धाभाव व्यक्त गर्दै “गुरुदेव एहसान आपका, याद रहेगा प्यार आपका” भन्ने भावपूर्ण पंक्ति प्रस्तुत गर्नुभयो । साथै “सत्गुरु आता है जग में सुखी करने को संसार, सत्गुरु आता है इस जग में केवल करने पर उपकार” भन्ने वाणी उद्धृत गर्दै सत्गुरुले संसारभर प्रेम, भाइचारा र मानवताको सन्देश फैलाउँदै प्रत्येक जीवभित्र परमात्माको दर्शन गराउने कार्य गर्नुभएको उल्लेख गर्नुभयो ।
उहाँले “Humanity is the only religion, everything else is confusion” भन्ने सन्देशमार्फत मानवता नै साँचो धर्म भएको उल्लेख गर्दै जात, धर्म, सम्प्रदाय तथा विभेदभन्दा माथि उठेर विश्वलाई ““Without Wall World” अर्थात् सीमाहीन विश्वको भावनासहित एकतामा जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी “मानवता ही धर्म है, बाकी सब भ्रम हो” भन्ने सन्देशमार्फत सम्पूर्ण मानव जातिलाई प्रेम, सद्भाव र एकताको मार्गमा अघि बढ्न प्रेरित गर्नुभयो ।
स्थानीय सन्तहरुद्वारा भजन वा प्रवचनको माध्यमबाट समर्पण दिवसमाथि प्रकाश पारिएको थियो भने कार्यक्रम सञ्चालन अत्तरियाका सेवादल जवान शिवराज कराडाले गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.