सुदूरपश्चिम प्रदेश

अछाममा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, ७ असार । अछाममा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पञ्चदेवल विनायक नगरपालिका–६ तोलिका निवासी धर्मेन्द्र रावललाई बालिकामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बालिकामाथि यौन दुर्व्यवहार भएको भन्ने उजुरी प्राप्त भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएपछि आरोपित शिक्षक रावललाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनासँग सम्बन्धित प्रमाण सङ्कलन, पीडित तथा सरोकारवालासँग बयान लिने कार्य जारी रहेको बताइएको छ।

बालबालिकामाथि हुने यौन हिंसाका घटनालाई गम्भीर अपराधका रूपमा लिइने भएकाले कानुनबमोजिम आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले उल्लेख गरेको छ।

स्थानीयस्तरमा शिक्षकमाथि लागेको आरोपले चासो र चिन्ता बढाएको छ। बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि विद्यालय, अभिभावक र समुदायबीच थप समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रहरीले यौन हिंसासम्बन्धी घटनामा पीडित तथा परिवारलाई कानुनी सहयोग र आवश्यक संरक्षण उपलब्ध गराइने जनाएको छ। साथै, यस्ता घटनाबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा सूचना दिन सबैलाई आग्रह गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।