स्वास्थ्य

दोधारा–चाँदनीमा विश्व योग दिवस मनाइयो, स्वस्थ जीवनशैली र योग अभ्यासमा जोड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दोधारा–चाँदनी (कञ्चनपुर), असार ७ । विश्व योग दिवसको अवसरमा सन्त निरंकारी मण्डल (नेपाल) शाखा दोधारा–चाँदनी–२, लठाघाटस्थित सत्संग भवनमा विशेष योग कार्यक्रम आयोजना गरी उत्साहपूर्वक मनाइएको छ।

सत्गुरुको कृपाले सम्पन्न उक्त कार्यक्रममा योग गुरु हरिओम रसाइली, उहाँको योग प्रशिक्षक टोली भानु क्याम्पसका प्रमुख प्रकाशबहादुर चन्द, रमेश भण्डारी तथा निवर्तमान शिक्षिका खिमा चन्द लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सन्त तथा भक्तजनहरूले सामूहिक रूपमा विभिन्न योगासन, प्राणायाम र योग अभ्यासमा सहभागिता जनाउँदै योगको महत्वबारे जानकारी प्राप्त गरेका थिए।

बिज्ञापन

कार्यक्रमका क्रममा योग गुरु रसाइलीले योगका विविध पक्षबारे प्रशिक्षण दिँदै नियमित योग अभ्यासले शरीर र मनलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले हात–खुट्टाको सञ्चालन, श्वास–प्रश्वासको सही अभ्यास, शरीरका विभिन्न अंगलाई सक्रिय बनाउने विधि तथा योगले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराउनुभयो।

उहाँले विशेषगरी मिर्गौला र फोक्सोको स्वास्थ्य सुदृढ बनाउन योग तथा प्राणायाम प्रभावकारी हुने उल्लेख गर्दै नियमित श्वास–प्रश्वास अभ्यासले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गराई स्वास्थ्य सुधारमा सहयोग पुग्ने बताउनुभयो। खुला मनले हाँस्दा मानसिक तनाव कम हुने, सकारात्मक ऊर्जा वृद्धि हुने र शरीरमा स्फूर्ति आउने उल्लेख गर्दै उहाँले योगलाई शारीरिक व्यायाम मात्र नभई मानसिक, भावनात्मक तथा आध्यात्मिक सन्तुलन कायम गर्ने जीवनपद्धतिका रूपमा अपनाउनुपर्नेमा जोड दिनुभयो।

सोही अवसरमा सन्त निरंकारी मण्डल नेपालका ज्ञानप्रचारक करण सिंह सुनारले योगले शरीरलाई स्वस्थ राख्नुका साथै मन, आत्मा र परमात्माबीचको सम्बन्ध स्थापित गर्ने कार्य गर्ने बताउनुभयो। उहाँले योगको वास्तविक अर्थ ‘जोड्नु’ रहेको उल्लेख गर्दै नियमित योग अभ्यासले मानसिक शान्ति, सकारात्मक सोच, आत्मविश्वास तथा आत्मिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

उहाँले बढ्दो तनाव र व्यस्त जीवनशैलीका कारण मानिसहरू विभिन्न मानसिक समस्याबाट प्रभावित भइरहेका बेला योग प्रभावकारी समाधानका रूपमा स्थापित भएको बताउँदै स्वस्थ, सुखी र सन्तुलित जीवनका लागि योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन आग्रह गर्नुभयो। योग र आध्यात्मिक ज्ञान एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै आत्मबोध र परमात्माबोधबाट जीवनमा वास्तविक शान्ति, सन्तुष्टि र आनन्द प्राप्त हुने उहाँको भनाइ थियो।

कार्यक्रममा पूर्व शिक्षक मानसिंह तिरुवा, शिक्षक भक्तबहादुर सुनार लगायत स्थानीय सन्त-भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।