बढ्दो बर्ड फ्लु जोखिम: मासु र अण्डा राम्रोसँग पकाएर खान विज्ञको सुझाव

काठमाडौँ, असार १२ गते । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न आग्रह गर्नु भएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकासहितका देशका विभिन्न जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमणको जोखिम बढ्दै गएकोले कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले बर्ड फ्लुको सङ्क्रमण देखिएसँगै धेरैले कुखुराको मासु र अण्डा खान मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा गर्ने हुँदा मासु र अण्डा राम्रोसँग पकाएर सेवन गर्दा भाइरस नष्ट हुने भएकाले त्यसबाट सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहने डा. श्रेष्ठले स्पष्ट पार्नुभयो।
विभागका अनुसार पछिल्ला तीन महिनामा बर्ड फ्लुको सङ्क्रमण ११ जिल्लामा फैलिसकेको छ। श्रेष्ठका अनुसार बर्ड फ्लु चराचुरुङ्गी तथा कुखुराजन्य पक्षीमा देखिने अत्यन्त सङ्क्रामक विषाणुजन्य रोग हो। यो इन्फ्लुएन्जा ‘ए’ भाइरसका विभिन्न प्रकारबाट फैलिने गर्दछ।
सङ्क्रमित पक्षीसँग प्रत्यक्ष सम्पर्कमा आउँदा वा तिनको दिसा तथा र्यालको सम्पर्कबाट मानिसमा समेत सङ्क्रमण सर्न सक्ने जोखिम रहने उहाँको भनाइ छ ।
विभागका अनुसार नेपालमा हाल एच फाइभ एन सेभेन र एच नाइन एन टु प्रजातिका भाइरस बढी सक्रिय छन्। तीमध्ये एच फाइभ एन वान सबैभन्दा घातक मानिन्छ।बर्ड फ्लुका कारण ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, आँखा सुनिने, श्वासप्रश्वासमा समस्या हुने तथा शरीर दुख्ने जस्ता लक्षण देखिन सक्छन्।
कुखुरामा भने अण्डा उत्पादन घट्ने, अण्डाको आकार सानो हुने, टाउको बटार्ने, सेतो वा हरियो दिसा गर्ने, स्नायु प्रणालीमा असर देखिने, सिरलोती सुनिने तथा अस्वाभाविक रूपमा ठूलो सङ्ख्यामा मृत्यु हुने जस्ता लक्षण देखिने डा. श्रेष्ठले जानकारी दिनुभयो।
यो रोगको सङ्क्रमण फैलन नदिन कुखुरा फार्म, मासु पसल वा कुखुराजन्य व्यवसायमा संलग्न व्यक्तिहरू उच्च जोखिममा रहने भएकाले मास्क, पञ्जा र बुटको प्रयोग गर्न उहाँको सुझाव छ ।
काम सकेपछि साबुनपानीले हातखुट्टा राम्रोसँग धुन, फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, सङ्क्रमित वा मरेका कुखुराको सुरक्षित व्यवस्थापन गर्न तथा दाना र कुखुरा एउटै सवारीसाधनमा ओसारपसार नगर्न पनि उहाँले आग्रह गर्नुभयो।
फार्ममा नियमित सरसफाइ र सुरक्षा अपनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । डा. श्रेष्ठले जङ्गली चराबाट सङ्क्रमण फैलिन सक्ने भएकाले फार्मलाई जङ्गली पक्षीको सम्पर्कबाट जोगाउन आवश्यक रहेको बताउनुभयो।
रोगी कुखुराको ओसारपसार तथा मरेका कुखुरा जथाभावी फाल्दा सङ्क्रमण थप फैलिन सक्ने उहाँको भनाइ छ।कुखुरा तथा अन्य पक्षीमा अस्वाभाविक मृत्यु देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन र बिरामी वा मरेका पक्षीलाई नछुन विभागले आग्रह गरेको छ। कुखुराजन्य खाद्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्न उहाँको अनुरोध छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
