संघर्षले बनायो स्टार: लामिन यामालले सुनाए परिवारको प्रेरणादायी कथा

विश्व फुटबलका उदाउँदा स्टार लामिन यामालले आफ्नो सफलतापछाडि रहेको पारिवारिक संघर्षको कथा सार्वजनिक गर्दै जीवनमा वास्तविक दबाब र संघर्ष के हो भन्ने सन्देश दिएका छन्।

यामालले हालै दिएको एक अभिव्यक्तिमा भने, “मेरी आमाले १६ वर्षकै उमेरमा मलाई जन्म दिनुभयो, त्यो नै वास्तविक दबाब थियो। मेरा बुबाले परिवारको पेट पाल्न सडकबाट सामान उठाएर काम गर्नुपर्थ्यो। त्यो नै संघर्ष हो। मैले त फुटबल खेल्नु मात्र छ।”

उनको यो भनाइ सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ। धेरैले यसलाई सफलता, संघर्ष र परिवारप्रतिको सम्मानको सशक्त उदाहरणका रूपमा लिएका छन्।

रिपोर्टअनुसार, यामालकी आमा शिला एबाना र बुबा मुनिर नसराउई किशोरावस्थामै अभिभावक बनेका थिए। यामाल तीन वर्षका हुँदा उनका आमाबुबा अलग भएका थिए। त्यसपछि उनकी आमा शिला एबानाले एक्लैले उनको पालनपोषण गर्दै आर्थिक अभावका बीच छोराको भविष्य निर्माणका लागि निरन्तर संघर्ष गरिन्।
परिवारको जीविकोपार्जनका लागि उनले फास्ट फुड रेस्टुरेन्टमा काम गरेको बताइन्छ। सानो र सामान्य घरमा हुर्किएका यामालले त्यहीँबाट आफ्नो फुटबल यात्राको सपना देख्न थाले। पछि उनी स्पेनिस क्लब बार्सिलोनाको प्रतिष्ठित ‘ला मासिया’ एकेडेमीमा आबद्ध भए, जहाँबाट उनको प्रतिभाले अन्तर्राष्ट्रिय पहिचान बनाउन थाल्यो।
हाल विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक मानिएका यामालले आफ्नो सफलताको श्रेय परिवारको त्याग र आमाको संघर्षलाई दिने गरेका छन्।
उनले अर्को अभिव्यक्तिमा भनेका छन्, “आज मेरी आमा खुसी भएको देख्दा र मेरो सानो भाइले मैले चाहेजस्तो बाल्यकाल बिताइरहेको देख्दा नै म सबैभन्दा खुसी हुन्छु।”
यामालको जीवनकथाले प्रतिभासँगै परिवारको त्याग, कठिन परिश्रम र अटुट विश्वासले पनि सफलताको आधार तयार गर्ने सन्देश दिएको छ।


