टीकापुर विमानस्थल सञ्चालनको बहस फेरि तात्यो, मन्त्री र सांसदको स्थलगत अनुगमन

टीकापुर, ६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले कैलालीस्थित टीकापुर विमानस्थलको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले विमानस्थलको सञ्चालन, स्तरोन्नति र आवश्यक पूर्वाधार विकासका कामलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री पौडेलसँगै कैलाली निर्वाचन क्षेत्र नम्बर–१ की प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली सुबेदी, क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य केपी खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताको टोलीले विमानस्थलको अवस्थाबारे जानकारी लिएको थियो।

निरीक्षणका क्रममा विमानस्थलको हालको अवस्था, सञ्चालनमा रहेका समस्या, आवश्यक पूर्वाधार तथा नियमित हवाई सेवा सञ्चालनका सम्भावनाबारे छलफल भएको बताइएको छ। स्थानीय सरोकारवालाले लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको विमानस्थललाई सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न आग्रह गरेका थिए।
मन्त्री पौडेलले टीकापुर विमानस्थल सुदूरपश्चिमको हवाई पहुँच विस्तारका लागि महत्त्वपूर्ण पूर्वाधार भएको उल्लेख गर्दै आवश्यक प्रक्रिया पूरा गरी विकास निर्माणका कामलाई अघि बढाइने बताए। उनले स्थानीय जनताको अपेक्षाअनुसार विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखेका छन्।
निरीक्षणमा सहभागी सांसद कोमल गेवाली सुबेदी र केपी खनालले पनि टीकापुर विमानस्थलको विकासलाई प्राथमिकतामा राखेर आवश्यक बजेट, नीति तथा समन्वयका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीयवासीले भने विमानस्थल सञ्चालनमा आए टीकापुरसहित कैलाली, बर्दिया र आसपासका जिल्लाको पर्यटन, व्यापार, लगानी तथा आवागमनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
टीकापुर विमानस्थल लामो समयदेखि नियमित हवाई सेवा सञ्चालन हुन नसक्दा प्रयोगविहीनजस्तै बनेको छ। पछिल्लो समय यसको पुनः सञ्चालन र पूर्वाधार विकासको माग उठ्दै आएको छ। मन्त्रीसहितको टोलीको स्थलगत निरीक्षण र विकासप्रतिको प्रतिबद्धताले स्थानीयमा नयाँ आशा जगाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
