टीकापुरको वाणीघाट पुलबाट बेवारिसे अवस्थामा भन्सार छलीका सुर्तीजन्य सामग्री फेला

धनगढी– टीकापुरको वाणीघाट पुलबाट बेवारिसे अवस्थामा भन्सार छलीका सुर्तीजन्य सामग्री फेलापरेको छ । टीकापुरबाट प्रहरीले करिब ५८ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय टीकापुरका अनुसार मङ्गलबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–६ स्थित वाणीघाट पुल क्षेत्रमा बेवारिसे अवस्थामा रहेको विभिन्न किसिमका सुर्तीजन्य सामग्री बरामद गरेको हो।

प्रहरी जवान धर्मबहादुर साउँदको नेतृत्वमा खटिएको टोलीले शंकास्पद अवस्थामा फेला परेको सामान जाँच गर्दा १८ पाकेट पवन सुर्ती, १० पाकेट आन्टी, ७१ पाकेट संगम बिडी र ७९ पाकेट श्यामलाल सुर्ती बरामद गरेको जनाएको छ। बरामद गरिएका सामग्रीको अनुमानित मूल्य ५७ हजार ७५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीको उपस्थिती देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्ति सामान छाडेर फरार भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा कसैको दाबी नआएपछि सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन भन्सार कार्यालय सत्तीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
प्रहरीले सीमावर्ती क्षेत्र हुँदै हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि नियमित गस्ती, निगरानी र चेकजाँचलाई थप कडा बनाइएको जनाएको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धानसमेत अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
