स्थानीय र प्रदेश सरकारबीचको विवादको मारमा सर्वसाधारण बिरामी, लम्कीचुहाले अस्पतालका करार कर्मचारीलाई हाजिर नगराउन गर्यो अनुरोध

कैलाली, स्थानीय र प्रदेश सरकारबीचको अधिकार तथा व्यवस्थापनसम्बन्धी विवादको प्रत्यक्ष असर लम्कीचुहा अस्पतालको स्वास्थ्य सेवामा परेको छ। लम्कीचुहा नगरपालिकाले अस्पतालमा कार्यरत करार कर्मचारीलाई हाजिर नगराउन पत्राचार गरेपछि अस्पतालको सेवा प्रवाह प्रभावित भएको हो।
नगरपालिकाले अस्पताल विकास समितिलाई पठाएको पत्रमा अस्पतालका करार सेवामा कार्यरत कर्मचारीहरूको करार अवधि २०८३ साल असार मसान्तसम्म रहेको र त्यसपछि करार म्याद थप गर्ने सम्बन्धमा अस्पताल विकास समितिबाट कुनै निर्णय नभएको उल्लेख गरेको छ। करार नवीकरणसम्बन्धी निर्णय नभएसम्म करार सेवामा रहेका कर्मचारीलाई कार्यालयमा हाजिर नगराउन नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाको उक्त निर्णयको प्रत्यक्ष असर अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण बिरामीमाथि पर्न थालेको छ। करार सेवामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नियमित रूपमा आफ्नो कार्यकक्षमा बसेर सेवा दिनुपर्ने अवस्थामा समेत कार्यकक्ष छाडेर बिरामीका कुरुवा बस्ने स्थानमा बस्न बाध्य भएको स्रोतले जनाएको छ।
यस अवस्थाले अस्पतालमा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तमा अन्योल सिर्जना हुनुका साथै स्वास्थ्य सेवा प्रवाहसमेत प्रभावित बनेको छ। दैनिक उपचार सेवा, स्वास्थ्य परीक्षण तथा अन्य अत्यावश्यक सेवामा समेत असर पर्न थालेको अस्पताल स्रोतले जनाएको छ।
स्थानीय र प्रदेश सरकारबीच देखिएको विवादका कारण स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र प्रभावित हुँदा यसको मार सर्वसाधारण बिरामीले व्यहोर्नुपरेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायलाई समस्या तत्काल समाधान गरी अस्पतालको सेवा नियमित सञ्चालन गर्न माग गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
