टीकापुर

सुकुम्बासी समस्या समाधान गर्न सांसद ज्ञवालीसमक्ष मागपत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १४ साउन । कैलालीको टीकापुर नगरपालिका–१ का विभिन्न बस्तीका सुकुम्बासीहरूले आफ्नो दीर्घकालीन जग्गा समस्या समाधानको माग गर्दै प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीलाई मागपत्र बुझाएका छन्।

बुधबार आयोजित एक कार्यक्रममा एकतानगर, विशालनगर, शिवनगर, चमेलीपुर, गणेशपुर, एकतापुर र शक्तिनगरका सुकुम्बासी तथा भूपू कमैया र भूपू कर्मचारी परिवारका प्रतिनिधिहरूले आफ्ना माग समेटिएको फाइल सांसद ज्ञवालीलाई हस्तान्तरण गरेका हुन्।

उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आए पनि जग्गाको स्वामित्व नपाउँदा नागरिकका आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्। सुकुम्बासी समस्या समाधानका लागि आवश्यक पर्ने थप प्रमाण तथा कागजातसमेत उपलब्ध गराउन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ।

कार्यक्रममा बोल्दै स्थानीय प्रतिनिधिहरूले टीकापुरको सुकुम्बासी समस्या लामो समयदेखि समाधान हुन नसकेको बताए। निर्वाचनका बेला विभिन्न राजनीतिक दलका नेताहरूले समस्या समाधान गर्ने आश्वासन दिने गरे पनि चुनावपछि प्रतिबद्धता कार्यान्वयन नभएको आरोप उनीहरूले लगाए।

“हरेक चुनावमा सुकुम्बासी समस्या समाधान गर्ने वाचा गरिन्छ, तर व्यवहारमा कुनै ठोस उपलब्धि देखिँदैन,” उनीहरूको भनाइ थियो।

मागपत्र बुझ्दै सांसद कोमल ज्ञवालीले सुकुम्बासीहरूको समस्या सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्यक्रममा सहभागीहरूले बताएका छन्।

टीकापुर क्षेत्रमा सुकुम्बासी, भूपू कमैया तथा भूमिहीन परिवारहरूको जग्गा व्यवस्थापनको विषय लामो समयदेखि समाधानको पर्खाइमा रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।