कैलालीको ऐतिहासिक गर्भा दरबार संकटमा, संरक्षणमा सरकारी उदासीनता ?

कैलाली, २० साउन । कैलालीको चुरे गाउँपालिका–४ स्थित ऐतिहासिक गर्भा दरबार पुनः भत्किएको छ। समयमै संरक्षण र पुनःनिर्माण हुन नसक्दा जिल्लाको महत्वपूर्ण ऐतिहासिक सम्पदामध्ये एक मानिने दरबार थप जीर्ण बन्दै गएको छ।
स्थानीयका अनुसार राणा शासनकालमा निर्माण गरिएको गर्भा दरबार वर्षौंदेखि संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको थियो। पछिल्लो समय दरबारको थप भाग भत्किएपछि यसको अस्तित्व नै संकटमा परेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
गर्भा दरबारले यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा वास्तुकलागत पहिचान बोकेको भए पनि सम्बन्धित निकायबाट आवश्यक संरक्षण र पुनःनिर्माणको पहल हुन नसकेको स्थानीयको गुनासो छ। उनीहरूले दरबारलाई पुरानै मौलिक डिजाइन र संरचनाअनुसार पुनःनिर्माण गरी भावी पुस्ताका लागि सुरक्षित राख्न माग गरेका छन्।
स्थानीयवासीका अनुसार पुरातात्त्विक महत्व बोकेका यस्ता संरचना क्रमशः नष्ट हुँदै जानु इतिहास र सांस्कृतिक सम्पदाको अपूरणीय क्षति हो। “पलपलमा हाम्रो इतिहास मर्दै गएको छ,” भन्दै उनीहरूले पुरातत्व विभाग, स्थानीय, प्रदेश तथा संघीय सरकारलाई संरक्षणका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।
सम्पदा संरक्षणका क्षेत्रमा कार्यरत सरोकारवालाले पनि ऐतिहासिक संरचनाको नियमित मर्मत, संरक्षण तथा पुनःनिर्माणमा ढिलाइ हुँदा यस्ता धरोहर हराउने जोखिम बढ्दै गएको बताएका छन्। उनीहरूका अनुसार गर्भा दरबारको ऐतिहासिक महत्वलाई ध्यानमा राखी यसको प्राविधिक अध्ययन गरी मौलिक स्वरूप कायम रहने गरी पुनःनिर्माण गरिनु आवश्यक छ।
स्थानीयले सम्बन्धित निकायले समयमै आवश्यक कदम नचाले गर्भा दरबार पूर्ण रूपमा लोप हुने खतरा रहेको भन्दै ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्न माग गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
