अनौठो

पूर्व कपडा व्यापारीको आश्रममै मृत्यु, अन्तिम संस्कारमा आएनन् तीन छोरी, जेठी छोरी नेपालमा शिक्षिका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सोनीपत, २४ साउन । हरियाणाको सोनीपतस्थित समाज कल्याण शिक्षा समितिद्वारा सञ्चालित वृद्धाश्रममा बस्दै आएका ७४ वर्षीय पूर्व कपडा व्यापारी शिवचरण रामरत्न गुप्ताको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका गुप्ताको मंगलबार बिहान करिब ३ः३० बजे आश्रममै मृत्यु भएको हो।

मुम्बईमा सफल टेक्स्टाइल व्यवसाय सञ्चालन गरेका गुप्ता आर्थिक समस्यामा परेपछि करिब डेढ वर्षअघि पत्नी मीनासँगै उक्त वृद्धाश्रममा आएका थिए। केही समयअघि पत्नीको समेत निधन भएपछि उनी आश्रममा एक्लै बस्दै आएका थिए।

आश्रम व्यवस्थापनका अनुसार गुप्ताको स्वास्थ्य अवस्था बिग्रिँदै गएको जानकारी उनका तीनै छोरीलाई करिब २० दिनअघि नै दिइएको थियो। तर उनको निधनपछि पनि तीनै छोरी अन्तिम संस्कारका लागि व्यक्तिगत रूपमा उपस्थित भएनन्।

गुप्ताका तीन छोरीमध्ये जेठी अनीता नेपालमा शिक्षिकाका रूपमा कार्यरत रहेको बताइएको छ। अर्की छोरी निशा उत्तर प्रदेशको आजमगढमा र कान्छी छोरी प्रिया मुम्बईमा बस्दै आएकी छन्।

मंगलबार बिहान गुप्ताको निधन भएपछि आश्रम व्यवस्थापनले तीनै छोरीलाई तत्काल जानकारी गराउँदै अन्तिम संस्कारमा सहभागी हुन आग्रह गरेको थियो। तर उनीहरू आश्रममा नआएपछि जेठी छोरी अनीताले अनलाइनमार्फत ५ हजार १०० रुपैयाँ पठाउँदै बुबाको सम्मानपूर्वक अन्तिम संस्कार गरिदिन आग्रह गरेकी थिइन्।

त्यसपछि तीनै छोरीले भिडियो कलमार्फत बुबाको अन्तिम संस्कार हेरे। आश्रमका कर्मचारी तथा स्थानीय बासिन्दाहरूले मिलेर गुप्ताको अन्तिम संस्कार सम्पन्न गरेका थिए।

अन्तिम संस्कारका क्रममा भिडियो कलमा एक छोरीको आवाज सुनिएको र उनले “कति बेर लाग्छ अझै? हामीलाई खाना खानु छ, नुहाउनु छ” भनेको आश्रम पक्षले जनाएको छ। संस्कार सम्पन्न भएपछि छोरीहरूले भिडियो पठाइदिन आग्रह गरेका थिए।

सुरुमा गुप्ताको खरानी सुरक्षित राखिदिन भनिए पनि पछि आफूहरू आउन नसक्ने भन्दै खरानी गंगामा विसर्जन गरिदिन अनुरोध गरिएको आश्रमले जनाएको छ।

गुप्ताले आफ्ना तीनै छोरीलाई राम्रो शिक्षा दिएका थिए। उनका दुई छोरी शिक्षिका बनेका छन्। छोरीहरूको उपलब्धिमा उनी सधैं गर्व गर्ने गरेको आश्रमका कर्मचारीले बताएका छन्। निधनपछि उनको आँखासमेत दान गरिएको जनाइएको छ।

जीवनको लामो समय परिवार र व्यवसायमा बिताएका गुप्ताको अन्तिम समय भने वृद्धाश्रममा एक्लै बित्यो। उनको अन्तिम संस्कारमा आफ्नै सन्तान उपस्थित नहुँदा आश्रमका कर्मचारी र स्थानीय बासिन्दाले नै अभिभावकको भूमिका निर्वाह गर्नुपरेको थियो।

घटनापछि सामाजिक सञ्जालमा परिवार, वृद्धावस्था र बदलिँदो सामाजिक सम्बन्धबारे बहस सुरु भएको छ। धेरैले घटनालाई भावनात्मक रूपमा लिएर ‘कलियुगको उदाहरण’ भन्दै टिप्पणी गरेका छन् भने कतिपयले वास्तविक परिस्थितिको पूर्ण जानकारीबिना निष्कर्षमा पुग्न नहुने धारणा पनि राखेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।