‘सेवा पद होइन, समर्पण हो’ : अध्यक्ष नर बहादुर रावल (स.नि.म. नेपाल)

काठमाडौ, ६ भदौ । सन्त निरंकारी मण्डल नेपालको केन्द्रीय कार्यालयमा आज भव्य सत्संग कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले उपस्थित श्रद्धालु भक्तजनलाई सम्बोधन गर्दै ब्रह्मज्ञान, आत्मजागृति, सेवा, समर्पण तथा मानवीय मूल्यको महत्त्वबारे गहन आध्यात्मिक विचार व्यक्त गर्नुभयो।

सम्बोधनका क्रममा अध्यक्ष रावलले जहाँ सन्तहरूको दर्शन र सत्संग प्राप्त हुन्छ, त्यहाँ हृदय आनन्दले गद्गद् हुने बताउनुभयो। मनमन्दिरमा ज्ञानको दीप प्रज्वलित गर्न सके जीवन उज्यालो, सुखी र आनन्दमय बन्ने उहाँले उल्लेख गर्नुभयो। सत्गुरुको कृपाबाट प्राप्त ब्रह्मज्ञानले मानव जीवनलाई आनन्द, शान्ति र सुखको मार्गमा अघि बढाउने बताउँदै उहाँले ब्रह्मज्ञान प्राप्त गर्नुअघि मानिस अन्धविश्वास, अज्ञानता, रूढीवादी परम्परा, लोभ, लालच, ईर्ष्या र अहंकारजस्ता विकारमा जकडिएको हुने बताउनुभयो।

“निद्रामा रहेको मानिसलाई सजिलै जगाउन सकिन्छ, तर जागिरहेको मानिसलाई जगाउन सकिँदैन,” बताउँदै आजको मानव आफू जागृत भएको ठाने पनि माया, मोह, अहंकार, पुत्र, परिवार, धन र सम्पत्तिको आकर्षणमा रुमल्लिरहेको भन्दै यस्तो अवस्थालाई वास्तविक जागृति भन्न नसकिने उहाँको भनाइ थियो।
मानव जीवन अत्यन्त अमूल्य अवसर भएको उल्लेख गर्दै अध्यक्ष रावलले मानिसले आफूलाई चिन्नुका साथै सत्गुरुको शरणमा पुगेर ब्रह्मज्ञान प्राप्त गरी मानव चोलालाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो। मानिस माया–ममताको जालमा फसेर आफ्नो जीवनको वास्तविक उद्देश्य बिर्सिरहेको बताउँदै उहाँले मानवले मानवलाई नै चिन्न नसकिरहेको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्नुभयो।

सत्गुरुले प्रेम, नम्रता, दया, सत्कार, धैर्य, सहनशीलता र करुणाजस्ता मानवीय गुण प्रदान गरी मानिसलाई वास्तविक अर्थमा मानव बनाइरहनुभएको उहाँले बताउनुभयो। “यदि हाम्रो जीवन खानपान, आहार–विहार र भौतिक आवश्यकतामा मात्र सीमित रहन्छ भने मानव र पशुबीचको भिन्नता नै रहँदैन,” उहाँले स्पष्ट पार्नुभयो।

अध्यक्ष रावलले आफू हालै १५ अगस्टमा दिल्लीमा आयोजित मुक्ति पर्व सत्संग समारोहमा सहभागी भएको स्मरण गर्दै त्यसको भोलिपल्ट १६ अगस्टमा आयोजित विशेष बैठकमा सत्गुरु माताजीबाट सेवा र जिम्मेवारीका विषयमा महत्वपूर्ण निर्देशन प्राप्त भएको बताउनुभयो।
सत्गुरुबाट प्राप्त सेवालाई पद, प्रतिष्ठा वा ठूलो मान्छे बन्ने अवसरका रूपमा लिन नहुने उहाँले बताउनुभयो। सेवामा सेवाभावभन्दा प्रशासनिक अधिकार, मान–प्रतिष्ठा र अहंकारको भावना हाबी हुन थाले सेवा आफ्नो वास्तविक उद्देश्यबाट विमुख हुने उहाँको भनाइ थियो।
“सत्गुरुको आदेशलाई सच्चा सेवकको भावनाबाट पालना गर्नुपर्छ। मान, पद र दर्जाको भावनाबाट अघि बढ्यौँ भने त्यहाँ सेवा रहँदैन, केवल अहंकार जीवित रहन्छ,” उहाँले भन्नुभयो। सेवामा आफूलाई ठूलो र अरूलाई सानो ठान्ने प्रवृत्तिबाट मुक्त हुनुपर्नेमा जोड दिँदै उहाँले प्रत्येक सेवकले आफ्नो बोली, वचन र व्यवहारप्रति निरन्तर आत्मचिन्तन गर्नुपर्ने बताउनुभयो।

निरंकारी सन्त र सांसारिक व्यक्तिबीचको अन्तर बोली, वचन, व्यवहार र वातावरणबाट देखिनुपर्ने उहाँले बताउनुभयो। ज्ञान प्राप्त गरेको व्यक्तिको व्यवहारमा प्रेम, सम्मान, नम्रता र सहनशीलता स्वाभाविक रूपमा देखिनुपर्ने उहाँको भनाइ थियो। सन्त समागममा एक बालकले व्यक्त गरेको प्रसंग स्मरण गर्दै उहाँले समागम परिसरभित्र रहँदा आफूलाई निरंकारी भावनामा प्रस्तुत गर्ने तर बाहिर निस्किएपछि व्यवहारमा त्यसको विपरीत देखिनु गम्भीर आत्मचिन्तनको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, “जहाँ ज्ञान हुन्छ, त्यहाँ सम्मान हुन्छ; जहाँ ब्रह्मज्ञान हुन्छ, त्यहाँ व्यवहारमा पनि मानवता देखिनुपर्छ।”


अध्यक्ष रावलले १५ अगस्टमा सद्गुरु माताजीबाट दिल्लीमा उद्घाटन गरिएको विशाल हेल्थ सिटी अस्पतालको प्रसंगसमेत उल्लेख गर्नुभयो। सन्तहरूको प्रेम, त्याग र सेवाभावबाट निर्माण भएको उक्त अस्पतालमा सबै मानवलाई समान व्यवहार गरिने उद्देश्य रहेको उहाँले बताउनुभयो। जात, वर्ग, हैसियत वा आफ्नो–बिरानोको कुनै भेदभाव नगरी सबैलाई समान सेवा प्रदान गरिने उल्लेख गर्दै “नर सेवा नै नारायण सेवा” भन्ने भावनाबाट अस्पताल सञ्चालन गरिने जानकारी उहाँले दिनुभयो।
मानिस दुःखी हुनुको एउटा प्रमुख कारण अरूको प्रगति र उन्नतिलाई सहज रूपमा स्वीकार गर्न नसक्नु पनि रहेको अध्यक्ष रावलले बताउनुभयो। “मेरो मात्र प्रगति होस्, म मात्र अगाडि बढूँ, म मात्र ठूलो बनूँ” भन्ने संकीर्ण सोचले मानिसलाई अशान्त र दुःखी बनाउने उहाँको भनाइ थियो। आफू अघि बढ्नुका साथै अरूको प्रगति र सफलतामा पनि खुसी हुन सक्ने उदार भावना विकास गर्नुपर्ने उहाँले बताउनुभयो।

विधिको विधानको प्रसंग उल्लेख गर्दै अध्यक्ष रावलले जे हुनुपर्ने हो, त्यो भएरै छाड्ने बताउनुभयो। भगवान् रामको वनवासको उदाहरण दिँदै उहाँले त्यसलाई केवल व्यक्तिगत कारणको परिणामका रूपमा नभई विधिको विधानका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सद्गुरुको कृपाले मानव जीवनको दिशा र भाग्यसमेत परिवर्तन हुन सक्ने बताउँदै उहाँले मुम्बईका ऋषि कमलजीको प्रसंगसमेत स्मरण गर्नुभयो।
उहाँका अनुसार ऋषि कमलजीले सद्गुरु बाबा गुरुवचन सिंहजीबाट प्राप्त आशीर्वादका कारण संकटमा परेका मानिसलाई आध्यात्मिक सहारा प्रदान गर्नुहुन्थ्यो। गुरुले चाहेपछि मानव जीवनमा ठूलो परिवर्तन आउन सक्ने र भाग्यको दिशा नै बदलिन सक्ने उहाँले बताउनुभयो।

आज हामीले प्राप्त गरेको मानव चोला नै सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष रावलले धन–सम्पत्ति, पुत्र, परिवारलगायत सांसारिक उपलब्धिहरू स्थायी नभएको बताउनुभयो। यी सबै दुई दिनको छायाँजस्तै क्षणिक रहेको उल्लेख गर्दै उहाँले सत्गुरुको कृपाबाट प्राप्त मानव जीवनलाई ब्रह्मज्ञानको प्रकाशमा सार्थक बनाउनु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो।


तेज बोहराद्वारा हरदेव वाणी गायन गरिएको उक्त सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, सहसचिव नरबहादुर विक, सदस्यहरू बेचु रजक र पुष्पा डाँगी, क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, अछामका संयोजक जयबहादुर साउद, पदमराज रेग्मी, झप्पर सिंह विक, मेघलाल केसी, केन्द्रीय उपाध्यक्ष, मुखी तथा ज्ञान प्रचारक कृष्ण पन्थ अभिषेक एवं साथी, गणेश विष्ट, वीरेन्द्र एवं साथी, ध्रुव अधिकारी, बाल संगतका बालबालिका, दीपिका एवं साथी, हृदय गणेश, अर्जुन एवं साथी, बाबु काजी एवं साथी, विजय एवं साथी र अर्जुन एवं साथीले भजन तथा प्रवचनमार्फत आ–आफ्नो आध्यात्मिक भाव प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले गर्नुभएको थियो। सत्संगले श्रद्धालु भक्तजनमा आत्मचिन्तन, सेवा, समर्पण, प्रेम, नम्रता, सहनशीलता तथा मानवीय मूल्यलाई व्यवहारमा उतार्दै ब्रह्मज्ञानको प्रकाशमा जीवनलाई सार्थक बनाउने प्रेरणा प्रदान गरेको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.