राम रतन धन पाएपछि जीवन समृद्ध हुन्छ : अध्यक्ष रावल, साधारण सभा असोज ३ र ४ गते

लम्की–मोतीपुर, १४ भाद्र । सन्त निरंकारी सत्संग भवन, मोतीपुरमा सत्संगको आयोजना गरिएको छ। सत्संगमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले ब्रह्मज्ञान, मानवता, प्रेम, सद्भाव, सेवा, सुमिरण र सत्संगको महत्त्वमाथि प्रकाश पार्दै मानव जीवनलाई ज्ञानको उज्यालोतर्फ अघि बढ्न प्रेरित गर्नुभयो।


सत्संगलाई सम्बोधन गर्दै अध्यक्ष रावलले संसारलाई उज्यालो बनाउन बाहिरी प्रकाश आवश्यक भएझैँ मानव मनरूपी मन्दिरलाई उज्यालो बनाउन ज्ञानको दीप प्रज्वलित गर्नुपर्ने बताउनुभयो। बाहिरको अन्धकारलाई एउटा दीपले हटाउन सक्छ भने मनभित्रको अज्ञानरूपी अन्धकारलाई केवल सत्यको ज्ञानले मात्र हटाउन सक्ने उहाँले उल्लेख गर्नुभयो। जहाँ निराकार परमात्माको जानकारी हुन्छ, त्यहाँ उज्यालो नै उज्यालो हुने र अन्धकारले स्थान नपाउने उहाँको भनाइ थियो। उहाँले जहाँ गुरुमत हुन्छ, त्यहाँ प्रकाश र जहाँ मनमत हाबी हुन्छ, त्यहाँ अज्ञानको अन्धकार रहने बताउनुभयो।
सद्गुरुको कृपाबाट ब्रह्मज्ञान प्राप्त गरी निराकार परमात्माको साक्षात्कार गर्न पाउनु मानव जीवनकै महान् सौभाग्य भएको अध्यक्ष रावलले बताउनुभयो। परमात्मा हामीभित्रै भएर पनि त्यसको अनुभूति र परिचयबाट अनभिज्ञ रहनु मानव जीवनको सबैभन्दा ठूलो विडम्बना भएको उहाँले उल्लेख गर्नुभयो। सद्गुरुले ब्रह्मज्ञानको माध्यमबाट आफूभित्रै विद्यमान निराकारको साक्षात् बोध गराइदिएपछि जीवनको दृष्टि नै परिवर्तन हुने उहाँको भनाइ थियो।


उहाँले माछाको उदाहरण दिँदै भन्नुभयो, “माछा चौबीसै घण्टा पानीमै हुन्छ, तर पनि तिर्खाएको हुन्छ। उसलाई आफू वरिपरि पानी नै पानी छ भन्ने थाहा भए पनि त्यस पानीको वास्तविक महत्त्व र अनुभूति हुँदैन। त्यस्तै हामी पनि निराकार परमात्माभित्र रहेर, परमात्मा हामीभित्रै भएर पनि त्यसको वास्तविक परिचयबाट वञ्चित थियौँ। सद्गुरुको कृपाले मात्र ‘हामी निराकारमा छौँ र निराकार हामीमा छ’ भन्ने सत्यको बोध भयो।”
मानिसले परमात्माको दर्शन त जीवनभर विभिन्न रूपमा गर्दै आएको भए पनि परमात्माको वास्तविक परिचय र अनुभूति भने ब्रह्मज्ञान प्राप्त भएपछि मात्र हुने उहाँले बताउनुभयो। सद्गुरुको कृपाले जीवनमा सत्यको प्रकाश प्रवेश गरेपछि मानिसको सोच, आचरण, व्यवहार, आहार–विहार र जीवनशैलीसमेत मर्यादित र संयमित हुँदै जाने उहाँको भनाइ थियो।


सन्तको जीवन प्रेम, नम्रता, सद्भाव, धैर्य र सहनशीलताको जीवन भएको उल्लेख गर्दै अध्यक्ष रावलले सन्तले हरेक नरमा नारायणको स्वरूप देख्ने बताउनुभयो। प्रत्येक मानवप्रति प्रेम र सम्मानको भाव राख्दै मानव एकताको सुन्दर उदाहरण प्रस्तुत गर्नु नै सन्त जीवनको विशेषता भएको उहाँले स्पष्ट पार्नुभयो।
ब्रह्मज्ञान प्राप्त हुनुअघि मानिस ‘म’ र ‘मेरो’को घेराभित्र बाँधिएको हुन्छ। ज्ञानको उज्यालो प्राप्त भएपछि त्यही ‘म’ विस्तार भएर ‘हामी’मा परिणत हुने उहाँले बताउनुभयो। “यो मेरो हो, त्यो तेरो हो” भन्ने सीमित भावनाबाट माथि उठेर “सबै परमात्माको हो” भन्ने चेतना जागृत हुनु नै आध्यात्मिक यात्राको सुन्दर उपलब्धि भएको उहाँको भनाइ थियो।
जहाँ गुरुको ज्ञान हुन्छ, त्यहाँ विषमता क्रमशः हराउँदै समानताको भावना विकसित हुने उहाँले बताउनुभयो। जात, धर्म, वर्ग, धनी–गरिब, सानो–ठूलो, कालो–गोरो जस्ता बाहिरी विभाजनले मानवलाई छुट्याउन नसक्ने र ज्ञानको प्रकाशमा सम्पूर्ण मानव एउटै परिवारका सदस्यका रूपमा देखिने उहाँले उल्लेख गर्नुभयो। ज्ञानले मानिसलाई मानिससँग जोड्ने र अज्ञानले मानिसलाई मानिसबाट टाढा बनाउने उहाँको भनाइ थियो।


अध्यक्ष रावलले नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोको पीडालाई स्मरण गर्दै प्राकृतिक विपत्तिले गाउँ, बस्ती र टोलको अस्तित्वसमेत मेटाइदिएको तथा धेरै परिवारलाई अकल्पनीय पीडामा धकेलेको बताउनुभयो। विपत्तिले मानिसको घर–आँगन मात्र बगाउँदैन, त्यसले परिवारका सपना, सम्बन्ध र जीवनभरका स्मृतिसमेत बगाएर लैजाने उहाँले बताउनुभयो।
यस्तो दुःखद् अवस्थामा समेत मृतकका शवबाट बहुमूल्य सामग्री निकाल्ने, भेटिएका सुनचाँदी, पैसा तथा अन्य वस्तु सम्बन्धित निकायलाई नबुझाई आपसमा बाँड्ने जस्ता अमानवीय कार्य देखिनु मानवताको संवेदनामाथिको गम्भीर प्रश्न भएको उहाँले बताउनुभयो। पीडामा परेको मानिसको साथमा उभिनुपर्ने समयमा स्वार्थलाई प्राथमिकता दिनु मानवीय मूल्यको पतन भएको उल्लेख गर्दै उहाँले सच्चा आध्यात्मिकता केवल वाणीमा नभई व्यवहारमा देखिनुपर्ने धारणा राख्नुभयो।


सत्यको ज्ञान प्राप्त भएपछि मानिसको हृदयमा आनन्दको स्रोत फुट्ने र सम्पूर्ण प्राणी एउटै परिवारका हुन् भन्ने भाव जागृत हुने उहाँले बताउनुभयो। त्यसपछि कोही आफ्नो र कोही पराई हुँदैन, सबैमा एउटै परमात्माको ज्योति देखिन्छ र सेवा नै जीवनको स्वाभाविक कर्म बन्न पुग्छ भन्ने उहाँको भनाइ थियो।
मानव जीवन निराकारबाट उत्पन्न भएको र अन्ततः निराकारमै विलीन हुने सत्यलाई आत्मसात् गर्दै जीवनलाई सेवा, सुमिरण र सत्संगसँग जोड्नुपर्ने उहाँले आग्रह गर्नुभयो। यी तीनैलाई जीवनको अभिन्न अङ्ग बनाएर व्यवहारमा उतार्न सके मानव जीवन सार्थक हुने र मुक्ति प्राप्तिको मार्ग प्रशस्त हुने उहाँले बताउनुभयो।
अध्यक्ष रावलले ब्रह्मज्ञान प्राप्त मानव नै वास्तविक अर्थमा संसारको धनी भएको उल्लेख गर्दै भन्नुभयो, “आज हामीभन्दा धनी कोही छैन, किनभने हामीले राम रतन धन पाएका छौँ। यो यस्तो धन हो, जुन संसारका कुनै वस्तुजस्तो आज छ र भोलि समाप्त हुने होइन; यो त जीवनलाई नै उज्यालो बनाउने अमूल्य सम्पत्ति हो।”
उहाँले मुक्तिपर्वका अवसरमा दिल्लीमा सद्गुरु माताजीको छत्रछायामा सम्पन्न सत्संगको स्मरण गर्दै त्यहाँबाट प्राप्त अमूल्य आध्यात्मिक वचन र सन्देशका विषयमा समेत जानकारी गराउनुभयो। त्यहाँ प्राप्त सन्देशले सेवा, प्रेम, नम्रता र मानवताको भावनालाई अझ गहिरो बनाउने प्रेरणा दिएको उहाँले बताउनुभयो।
यसै क्रममा हालै उद्घाटन गरिएको सन्त निरंकारी हेल्थ सिटी अस्पतालका विषयमा जानकारी दिँदै उहाँले मानव सेवामै नारायण सेवा निहित रहेको बताउनुभयो। अस्पतालमा आउने प्रत्येक व्यक्तिलाई समान दृष्टिले हेर्दै प्रेम, नम्रता, सत्कार, सद्भाव र अमन–शान्तिको भावनाका साथ सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो।
अध्यक्ष रावलले गत १६ अगस्टमा सम्पन्न महत्त्वपूर्ण बैठकको प्रसङ्ग उल्लेख गर्दै सद्गुरु माताजीबाट प्राप्त अमूल्य आदेश र मार्गदर्शनलाई जीवनमा आत्मसात् गर्दै सेवाभावलाई अझ व्यापक बनाउनुपर्ने बताउनुभयो।
उहाँले सन्त निरंकारी मण्डल नेपालको ३७औँ साधारण सभा यस वर्ष कैलालीको सडकपुर बौनियास्थित सत्संग भवनमा आयोजना हुने जानकारी पनि दिनुभयो। आगामी असोज ३ र ४ गते हुने साधारण सभामा यसपटक सत्संग इन्चार्ज तथा सेवादल इन्चार्जलाई समेत सहभागी गराइने उहाँले बताउनुभयो। असोज ३ गते सत्संग समाप्तिपछि दिउँसो २ बजेदेखि ५ बजेसम्म उद्घाटन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ भने असोज ४ गते पूर्ण दिन साधारण सभाका कार्यक्रम सञ्चालन हुने जानकारी दिइयो।
साधारण सभालाई सफल र व्यवस्थित बनाउन मोतीपुर, बौनिया, सुखडलगायत आसपासका क्षेत्रका सेवादल जवानहरूलाई सेवा, सत्कार तथा व्यवस्थापनमा परिचालन गरिने अध्यक्ष रावलले बताउनुभयो। सेवा कुनै पद वा प्रतिष्ठाको विषय नभई आफूलाई परमात्माको चरणमा समर्पित गर्ने अवसर भएको उहाँको धारणा थियो।
उहाँले बौनियामा सम्पन्न नारी सन्त समागमको प्रसङ्गसमेत स्मरण गर्नुभयो। उक्त समागममा सहभागी हुनुभएकी महात्मा डा. रिटा यादवजी त्यस समयमा ज्ञान प्रचारकका रूपमा आउनुभएको र त्यहाँबाट फर्किएको करिब दुई महिनापछि सद्गुरुको कृपाबाट इन्चार्जको सेवाको जिम्मेवारी प्राप्त गर्नुभएको जानकारी उहाँले दिनुभयो। सेवाको अवसर मानिसको क्षमता वा पदभन्दा पनि सद्गुरुको कृपा र समर्पणसँग जोडिएको उहाँले बताउनुभयो।
सत्संगको अन्त्यमा अध्यक्ष रावलले देश बाढीपहिरोको पीडाबाट गुज्रिरहेको वर्तमान अवस्थामा सम्पूर्ण सन्त–भक्तहरूलाई आफ्नो गच्छेअनुसार सेवा र सहयोग गर्न आह्वान गर्नुभयो। विपत्तिमा परेका मानिसका आँसु पुछ्नु, दुःखमा साथ दिनु र पीडितको जीवनमा आशाको एउटा दीप बाल्नु नै सच्चा मानवताको परिचय भएको उहाँले बताउनुभयो।
उहाँले मानवताभन्दा ठूलो कुनै धर्म नभएको भाव व्यक्त गर्दै प्रत्येक हृदयमा प्रेम, करुणा, सद्भाव र सेवाको ज्योति प्रज्वलित गर्न आग्रह गर्नुभयो। ज्ञानले मन उज्यालो बनाओस्, प्रेमले हृदय जोडोस् र सेवाले मानवतालाई जीवन्त बनाओस् भन्ने आध्यात्मिक सन्देशका साथ सत्संग सम्पन्न भएको थियो।
सत्सङ्ग कार्यक्रममा कृष्ण जी, चंद्रा जी , देवराज जी, भक्त जी, दुरा जी, पवन जी, देव बहादुर जी, रोशनी जी, लेखा जी, राधा जी , ज्ञान प्रचारक महात्मा नवल सिंह बोहरा जी, चंदू जी, भद्रा जी, नरेंद्र जी, अंकिता जी, विवेक जी, देवराज महात्मा जी, सुंतला, श्रीये प्रसाद जी, गायक तेज बहादुर जी, रोशन एवं साथी, सावित्री जी र जनक जीले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रस्तुत गरेका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.