रसुवा भोटेकोशी बाढीको छैटौ दिन : ११ हजारभन्दा बढीको उद्धार, ३९ सयभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौं, १६ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ। प्रधानमन्त्री बालेन शाहले बाढीपछिको छैटौँ दिनसम्म भएका उद्धार, राहत, पूर्वाधार पुनःस्थापना तथा खोजी कार्यबारे विस्तृत जानकारी सार्वजनिक गरेका छन्।
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको सकुशल उद्धार गरिएको छ। अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको र खोजी तथा विवरण अद्यावधिक गर्ने कार्य जारी रहेको जनाइएको छ।
बाढीमा परी घाइते भएका २७९ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
९३९ जनाको शव फेला
विनाशकारी बाढीमा परी ज्यान गुमाएका ९३९ जनाको शव फेला परेको सरकारले जनाएको छ। सनाखत भएका शव तत्काल आफन्तको जिम्मा लगाइएको छ।
पहिचान खुल्न नसकेका शवको हकमा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार डीएनए प्रोफाइललगायत आवश्यक वैज्ञानिक प्रमाण सुरक्षित राखी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा सरकारले व्यवस्थापन गरिरहेको जनाएको छ।
२७ वितरण केन्द्रमार्फत राहत
रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका चार मुख्य राहत संकलन केन्द्रबाट २७ वटा वितरण केन्द्रमार्फत हालसम्म ३ हजार ६९६ जना प्रभावितलाई हवाई तथा सडकमार्गबाट राहत सामग्री पुर्याइएको छ।
राहत वितरण प्रभावकारी भए–नभएको अनुगमन गर्न प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा कर्मचारीलाई प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका लागि परिचालन गरिएको छ।
विपद्को समयमा भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट राहत तथा प्राविधिक सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ।
राहत कोषमा पौने ६ अर्ब संकलन
‘उद्धार अनुरोध पोर्टल’मार्फत राहत कोषमा प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोषअन्तर्गत नौवटा वाणिज्य बैंकका खातामा हालसम्म रु. ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ संकलन भएको जनाइएको छ।
यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलरभन्दा बढी रकम जम्मा भएको सरकारले जनाएको छ।
वैकल्पिक सडक सञ्चालन, बेलिब्रिज निर्माण तीव्र
बाढीका कारण क्षतिग्रस्त सडक सञ्जाललाई पुनः सञ्चालनमा ल्याउने क्रममा गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसीबाट त्रिशूली बजारसम्मको वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। यससँगै नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालसँग जोडिएको सरकारले जनाएको छ।
नेपाल सरकारसँग मौज्दात रहेका ४८ मिटरका ६ वटा र ७० मिटरको एउटा गरी सातवटा बेलिब्रिज परिचालन गरिँदैछ। देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्न आवश्यक प्राविधिक अध्ययनसमेत पूरा भएको छ।
भारत सरकारबाट २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भइसकेको छ भने थप सातवटा बेलिब्रिज पठाउने प्रतिबद्धता आएको छ। चीन सरकारबाट पनि थप ३० वटा बेलिब्रिज प्राप्त हुने जनाइएको छ।
विद्युत् र सञ्चार सेवा पुनःस्थापनामा प्रगति
रसुवामा कालिकास्थान, नौकुण्डका केही भाग, गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. ५ र ६ तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनःस्थापना भएको छ। आमाछोदिङमा सान्जेन आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् उपलब्ध गराउने तयारी भइरहेको छ भने विकट क्षेत्रमा ५०० थान पोर्टेबल सोलार पठाइएको छ।
नुवाकोटमा ८५ प्रतिशत विद्युत् सेवा सुचारु भइसकेको र बाँकी क्षेत्रमा आगामी पाँच दिनभित्र विद्युत् पुर्याउने लक्ष्य राखिएको छ। धादिङमा राजमार्ग आसपासका क्षेत्रमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भएको र बाँकी आदमघाट क्षेत्रमा दुई दिनभित्र सेवा सञ्चालन गर्ने तयारी छ।
दूरसञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० वटा बीटीएस टावर र एनसेलका ७८ मध्ये ७५ वटा टावर पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
जलविद्युत् आयोजनाका सुरुङमा खोजी जारी
बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङबाट हालसम्म २७९ जना श्रमिक तथा कर्मचारीको उद्धार गरिएको सरकारले जनाएको छ।
रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ। नेपाली सेना र चिनियाँ टोलीले सुरुङको अन्तिम बिन्दुसम्म ड्रोनमार्फत खोजी गर्दा मानवीय उपस्थिति नभेटिएपछि टोली फिर्ता भएको जनाइएको छ।
माथिल्लो त्रिशूली–१ आयोजनाबाट २५४ जनाको सकुशल उद्धार गरिएको छ। सुरुङभित्र नेपाली सेना, कोरियन तथा चिनियाँ प्राविधिक टोलीले खोजी जारी राखेका छन्।
मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जनाको उद्धार गरिएको छ। लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका सुरुङको मुख खोल्ने तथा खोजी कार्य नेपाली सेना, भारतबाट आएको विशेष टनेल रेस्क्यु टोली र प्राविधिक टोलीले जारी राखेका छन्।
माथिल्लो त्रिशूली–३ए आयोजनाको सुरुङमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ९० जना सुरक्षाकर्मी तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीले खोजी गरिरहेका छन्। माथिल्लो त्रिशूली–३बीबाट दुई जनाको उद्धार भएको छ भने चिनियाँ टोलीको रेकीपछि थप ३१ जना सैनिक परिचालन गरी खोजी जारी राखिएको छ।
अन्य आयोजनातर्फ त्रिशूली जलविद्युत् आयोजनाबाट तीन, देवीघाटबाट चार र सौर्य आयोजनाबाट चार जनाको उद्धार गरिएको सरकारले जनाएको छ।
हिमपहिरोका कारण आएको ठूलो प्राकृतिक विपत्ति
सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विपत्तिलाई हिमाली क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरो (Rock-Ice Avalanche) का कारण सिर्जित यस क्षेत्रकै ठूलो प्राकृतिक विपत्तिका रूपमा निष्कर्ष निकालेको जनाएको छ।
जलवायु परिवर्तनका कारण देखापरिरहेको यस्तो गम्भीर जोखिमबारे संयुक्त राष्ट्रसंघको महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणसहित नेपालको आवाज उठाउने सरकारको तयारी छ। साथै सीमापार पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र मजबुत बनाउने योजना अघि सारिएको छ।
यसैबीच स्थानीय तहसँगको समन्वयमा बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन सुरु गरिएको छ। घरबार तथा आफन्त गुमाएका नागरिकलाई शारीरिक, मानसिक र आर्थिक रूपमा सक्षम बनाउँदै दीर्घकालीन पुनःस्थापना गर्ने उद्देश्यले आवश्यक स्रोत, योजना र कार्यक्रम अघि बढाइएको सरकारले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
