रसुवा बाढीपीडितको मनोबल बढाउँदै टीकापुर–१ का वडाध्यक्ष विक

टीकापुर, ५ असोज । रसुवामा गत भदौ १० गते आएको भीषण बाढीमा आफन्त गुमाएका तथा सम्पर्कविहीन परिवारमा बढ्दै गएको मानसिक तनाव कम गर्न टीकापुर नगरपालिका–१ का वडा अध्यक्ष मोहन बि.क.ले समितिपुरका प्रभावित परिवारसँग भेटघाट गरी मनोबल बढाउने प्रयास गर्नुभएको छ। आफन्तको अवस्था थाहा नहुँदा लामो समयदेखि चिन्ता र अन्योलमा रहेका परिवारलाई अध्यक्ष विकले राज्य र स्थानीय सरकार उनीहरूको साथमा रहेको भन्दै धैर्य गर्न आग्रह गर्नुभएको हो।

समितिपुरमा पुगेर प्रभावित परिवारको अवस्था बुझेका अध्यक्ष विकले विपद्को पीडा सहजै बिर्सन नसकिने भए पनि यस्तो कठिन परिस्थितिमा निराश नहुन आग्रह गर्नुभयो। उहाँले पीडित परिवारका सदस्यसँग व्यक्तिगत रूपमा कुराकानी गर्दै उनीहरूको अवस्था, समस्या र तत्काल आवश्यकताबारे जानकारी लिनुभयो।
‘विपद्का बेला पीडित परिवारलाई अभिभावकत्व दिनु सरकारको दायित्व हो,’ अध्यक्ष विकले भन्नुभयो, ‘तपाईंहरू एक्लै हुनुहुन्न, स्थानीय सरकार तपाईंहरूको साथमा छ। धैर्य राख्नुस्, आवश्यक सहयोगका लागि हामी निरन्तर पहल गर्छौं।’

रसुवाको बाढीमा ज्यान गुमाएका वा बेपत्ता भएकाहरूको पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उहाँले परीक्षणमा समय लाग्ने भएकाले परिवारलाई संयमित रहन आग्रह गर्नुभयो। स्थानीयस्तरबाट डिएनए नमुना संकलन गरी काठमाडौं पठाइसकिएको र पहिचानको प्रक्रिया वैज्ञानिक विधिबाट अघि बढिरहेको उहाँले बताउनुभयो।
अध्यक्ष विकले प्रभावित परिवारका बालबालिकाको शिक्षा–दीक्षा, अभिभावकको हेरचाह तथा काम गर्न चाहने परिवारका सदस्यका लागि रोजगारीका अवसर जुटाउन सरकारका सम्बन्धित निकायसँग समन्वय गरिने बताउनुभयो। राहत तत्कालको आवश्यकता भए पनि दीर्घकालीन रूपमा परिवारलाई आत्मनिर्भर बनाउने योजना आवश्यक रहेको उहाँको भनाइ छ।
बाढीपछि आफन्तको खोजी, शव पहिचान र राहतको पर्खाइमा रहेका परिवारमा निराशा बढ्न सक्ने भएकाले स्थानीय जनप्रतिनिधिले उनीहरूसँग निरन्तर सम्पर्क र संवाद राख्नुपर्ने अध्यक्ष विकले बताउनुभयो। समितिपुरका प्रभावित परिवारलाई पनि आवश्यक सहयोग र समन्वयका लागि वडा कार्यालय सधैं खुला रहेको उहाँले जानकारी दिनुभयो।
पीडित परिवारसँग गरिएको भेटघाटले उनीहरूका समस्या प्रत्यक्ष रूपमा सुन्ने र कठिन समयमा साथ दिने स्थानीय सरकारको प्रयासका रूपमा लिइएको छ।Is this conversation helpful so far?

