टीकापुर

टीकापुरका विकास योजनाबारे सांसद चौधरी र ज्ञवालीबीच काठमाडौंमा छलफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ५ असोज । टीकापुर क्षेत्रका सडक, पुल, तटबन्ध, स्वास्थ्य पूर्वाधार, फोहोर व्यवस्थापन तथा सीमा पूर्वाधारका योजनाबारे सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी र कैलाली–१ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीबीच काठमाडौंमा छलफल भएको छ। भेटमा क्षेत्रका प्राथमिक विकास आयोजना अघि बढाउन संघ र प्रदेश तहबाट समन्वयात्मक पहल गर्ने विषयमा कुराकानी भएको हो।

लोक कल्याणकारी विज्ञापन

भेटमा टीकापुर नगरपालिका–५ को पार्क रोड–रानीकुलामा पक्की पुल, पार्क रोडमा नालीसहित चार लेनको सडक तथा दौलतपुरघाटसम्म कालोपत्रे गर्ने योजना अघि बढाउन आग्रह गरिएको थियो। पुरानो नुक्लीपुर–झन्झटपुरबीच रानीकुलामा पक्की पुल तथा संकट्टीघाटदेखि कर्णाली करिडोर, गौशाला, पार्कको पूर्वी भाग, दौलतपुरघाट हुँदै तल्लो शाहीपुर–सिम्रेनी–सत्ती खेलकुद मैदानछेउबाट रामजानकी मन्दिरसम्म करिब ७ किलोमिटर सडक कालोपत्रे गर्ने विषयसमेत उठाइएको थियो।

त्यस्तै, टीकापुर–१ को उत्तर बनगाउँस्थित मगरटोलदेखि दक्षिण बनगाउँ हुँदै बाघमारा, जमरपुर, पुछरी, बेलुवाबोझी र भगवानपुर हुँदै भर्थापुरको पक्की पुलसम्म करिब ७ किलोमिटर सडक कालोपत्रे तथा त्रिनिटी स्कुलदेखि आँखा अस्पताल हुँदै संकट्टीघाटसम्म सडक कालोपत्रे गर्ने माग राखिएको थियो।

लोक कल्याणकारी विज्ञापन

टीकापुर–मुनुवा सडकअन्तर्गत हरि ज्ञवालीको घर हुँदै खाद्यगोदाम, मुनुवा बजार चोक र झबहीपुल–पथरैयासम्म सडक कालोपत्रे, वडा नं. ७ मा डिब्बीपुरघाटदेखि बेलुवाघाटसम्म पथरैया नदीमा १ हजार २ सय मिटर तटबन्ध तथा वडा नं. ५ मा फोहोर व्यवस्थापनका लागि सेग्रिगेसन सेन्टरको घेरापर्खाल र भवन निर्माणका विषयमा पनि छलफल भएको थियो।

टीकापुर प्रादेशिक अस्पतालको एकीकृत भवन निर्माण तथा एमआरआई मेसिन व्यवस्थापन, वडा नं. ९ स्थित खक्रौला भन्सारमा आधुनिक क्वारेन्टाइन स्थापना र जानकी गाउँपालिका–७ शंकरपुर तथा जोशीपुर गाउँपालिका–४ कुटनीमाता थानबीच पथरैया नदीमा पक्की पुल निर्माणको विषय पनि छलफलमा समेटिएको थियो।

भेटमा रसुवाको भोटेकोसी बाढीपछि सम्पर्कविहीन रहेका टीकापुरका २२ जनाको खोजी तथा अवस्थाबारे यथाशीघ्र जानकारी गराउन संघीय सरकारसँग प्रभावकारी पहल गर्न पनि आग्रह गरिएको थियो।

सांसद चौधरी र ज्ञवालीबीच टीकापुर क्षेत्रका जनसरोकारका विषयमा निरन्तर समन्वय र सम्बन्धित निकायमार्फत पहल अघि बढाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

लोक कल्याणकारी विज्ञापन