समालखामा १२६ जोडीको सामूहिक विवाह

दिल्ली, १३ कात्तिक । भारतको हरियाणास्थित समालखामा आयोजित ७९औँ निरंकारी सन्त समागमको समापनपछि १२६ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । सतगुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता रमित जीको उपस्थितिमा बिहीबार आयोजित समारोहमा भारतका विभिन्न राज्यसहित अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाबाट आएका जोडी वैवाहिक बन्धनमा बाँधिएका हुन् ।


समारोहमा परम्परागत वरमाला र निरंकारी साझा हार आदानप्रदान गरी विवाह प्रक्रिया अघि बढाइएको थियो । त्यसपछि हिन्दी भाषामा निरंकारी लावाँ गायन गरिएको थियो । सतगुरु माता जी र निरंकारी राजपिता जीले नवदम्पतीमाथि पुष्पवृष्टि गर्दै सुखमय दाम्पत्य जीवनको आशीर्वाद दिएका थिए ।

सतगुरु माता सुदीक्षा जी महाराजले विवाहलाई एउटा समारोहमा मात्र सीमित नराखी जीवनभर आत्मसात् गर्नुपर्ने जिम्मेवारीका रूपमा लिन आग्रह गर्नुभयो । पति–पत्नीले एकअर्काका जिम्मेवारी समान रूपमा वहन गर्दै प्रेम, विश्वास र समझदारीका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । जीवनका हरेक परिस्थितिमा एकअर्काको सहारा बन्न, कमजोरी स्वीकार गर्न र क्षमाशील तथा विनम्र रहन उहाँले नवदम्पतीलाई प्रेरित गर्नुभयो ।

सेवा, सुमिरन र सत्सङ्गको मार्गमा दुवैले एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले वैवाहिक सम्बन्धलाई दुवै परिवारबीचको आपसी सम्मान र सद्भावले थप बलियो बनाउने बताउनुभयो । समारोहमा सतगुरु माता जीको परिवारका एक सदस्यको विवाहसमेत सम्पन्न भएको थियो ।

सन्त निरंकारी मण्डलका सचिव जोगिन्दर सुखीजाका अनुसार समाज कल्याण विभागको सहयोगमा आयोजित समारोहमा बिहार, दिल्ली, गुजरात, हरियाणा, महाराष्ट्र, पञ्जाब, राजस्थान, उत्तरप्रदेशलगायत भारतका विभिन्न राज्यबाट आएका जोडी सहभागी थिए । जम्मु–कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, पश्चिम बंगालसहित अन्य राज्यका साथै अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाबाट पनि जोडी आएका थिए ।
विभिन्न भाषा, क्षेत्र र संस्कृतिका १२६ जोडी एकै समारोहमा विवाह बन्धनमा बाँधिनुले समानता, एकत्व र विश्वबन्धुत्वको सन्देश दिएको आयोजकले जनाएको छ । निरंकारी मिशनले सामूहिक सादा विवाहमार्फत अनावश्यक तडकभडक र खर्चभन्दा सादगी, आपसी समझदारी र मानवीय मूल्यलाई प्राथमिकता दिन प्रेरित गर्दै आएको छ ।



You must be logged in to post a comment.