हरियाणामा नेपाली सन्तले देउडामार्फत झल्काए मौलिक लोकसंस्कृति

टीकापुर, ११ कात्तिक । भारतको हरियाणामा आयोजित ७९औँ निरंकारी सन्त समागममा नेपाली सन्त–भक्तहरूले सुदूरपश्चिमको लोकप्रिय देउडा गीत र नृत्य प्रस्तुत गर्दै नेपाली मौलिक लोकसंस्कृति झल्काएका छन्। परदेशको भूमिमा नेपाली कला, संस्कृति र परम्पराको मिठास प्रस्तुत हुँदा समागममा सहभागी नेपालीहरू उत्साहित देखिएका थिए।

चार दिनसम्म चलेको समागममा भारतसहित विभिन्न देशबाट लाखौँ सन्त–भक्त सहभागी भएका थिए। समागममा सहभागी नेपालीहरूले सुदूरपश्चिमको पहिचानका रूपमा रहेको देउडा गीत गाउने, नाच्ने र रमाउने गर्दै आपसी सद्भाव तथा सांस्कृतिक एकताको सन्देश दिएका थिए।

देउडाका माध्यमबाट निरंकारी मिशनले विश्वकल्याणका लागि दिँदै आएका विभिन्न सन्देशसमेत प्रस्तुत गरिएको थियो। सन्त–भक्तहरूले गीत र नृत्यमा आध्यात्मिक ज्ञान, प्रेम, सद्भाव र मानवताको भाव समेट्दै मनोरञ्जनसँगै सकारात्मक सन्देश प्रवाह गरेका थिए।


समागमका चारै दिन सद्गुरु माता सुदीक्षा सविन्दर हरदेवजीको अमूल्य प्रवचन श्रवण गर्ने अवसर पाएका सन्त–भक्तहरूले परमपूज्य राजपिता रमितजीको प्रवचनबाट पनि आध्यात्मिक लाभ लिएका थिए। प्रवचनका माध्यमबाट ब्रह्मज्ञान, प्रेम, सेवा र मानवकल्याणको सन्देश ग्रहण गर्दै जीवनलाई सार्थक बनाउने प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।
लाखौँ सन्त–भक्तको सहभागिता रहेको समागमस्थलमा खाने, बस्ने र अन्य आवश्यक सुविधाको व्यवस्था गरिएको थियो। विभिन्न देशबाट आएका सन्त–भक्तहरूले आध्यात्मिक प्रवचन श्रवण गर्नुका साथै आपसी भेटघाट, सद्भाव र सांस्कृतिक आदानप्रदानको अवसरसमेत प्राप्त गरेका थिए।
समागम सम्पन्न भएपछि नेपाली सन्त–भक्तहरू आ–आफ्नो गन्तव्यतर्फ फर्किएका छन्। केही सोमबार राति नै घर फर्किएका थिए भने केहीले गुरु वन्दना कार्यक्रममा सहभागी भएर गीत, नृत्य र भजनमार्फत आध्यात्मिक आनन्द लिँदै घर फर्किएको जनाइएको छ।
परदेशमा नेपाली मौलिक संस्कृति प्रस्तुत गर्दै देउडामार्फत आध्यात्मिक सन्देश प्रवाह गर्नुले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुगेको सहभागीहरूको भनाइ छ।



You must be logged in to post a comment.